काठमाडौँ- फिल्म ‘आइ एम जित बहादुर’ को भव्य प्रिमियर काठमाडौँको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा सम्पन्न भएको छ। अभिनेता जितु नेपाल (जित बहादुर) ले आफ्नै लगानीमा निर्माण गरेको यो फिल्मको प्रिमियर बुधबार साँझ विशेष माहोलमा सम्पन्न भएको हो।
सिन्धुपाल्चोकमा जन्मिएर लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय जितु नेपालले करिब तीन दशकदेखि अभिनय, हास्य तथा फिल्म क्षेत्रमा योगदान दिँदै आएका छन्।
सानो भूमिकाबाट सुरु गरेको उनको यात्रा टेलिभिजन श्रृंखला ‘जिरे खोर्सानी’ को मुन्द्रे पात्रमार्फत व्यापक रूपमा चर्चित बनेको थियो। त्यसपछि उनले ‘छक्का पन्जा’ श्रृंखला, ‘हेरककी प्यारी’, ‘ज्वाइँसाब’, ‘कार्साङ’ लगायतका फिल्ममा मुख्य तथा सहायक भूमिकामा अभिनय गर्दै आफ्नो पहिचान स्थापित गरेका थिए।
यसपटक भने उनले ‘आइ एम जित बहादुर’ फिल्ममार्फत निर्माता तथा मुख्य कलाकार दुवै भूमिकामा आफूलाई प्रस्तुत गरेका छन्। फिल्मको प्रचारप्रसारका क्रममा उनी पछिल्ला दिनहरूमा स्कुल, कलेज कार्यक्रम, टेलिभिजन अन्तर्वार्ता तथा विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका थिए।
(असार ५ गते) शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको यो फिल्मको बुधबारदेखि नै शो खुलिसकेको छ। प्रिमियरमा फिल्म हेर्न कलाकार, संगीतकर्मी तथा फिल्मकर्मीहरूको ठूलो उपस्थिति देखिएको थियो।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, स्वस्तिमा खड्का, तुलसी घिमिरे, मनोज गजुरेल, टिका पहाडी, बुद्धि तामाङ तथा गायकहरू सत्यराज आचार्य, हेमन्त शर्मा, शिव परियारलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, अभिनेत्री प्रियंका कार्की श्रीमान् आयुष्मान देशराज जोशीसँग तथा अभिनेत्री वर्षा राउत श्रीमान संजोग कोइरालासँग प्रिमियरमा सहभागी भएका थिए। प्रिमियरमा हल खचाखच भरिएको थियो।
फिल्म हेरेपछि उपस्थित कलाकार तथा दर्शकहरूले फिल्मलाई मनोरञ्जनात्मक, भावनात्मक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्। धेरैले जितु नेपालको अभिनयलाई फिल्मको मुख्य आकर्षणका रूपमा प्रशंसा गरेका छन्।
कलाकारहरूले फिल्मले कलाकार बन्ने संघर्ष, सपना पछ्याउने यात्रा र व्यक्तिगत जीवनका चुनौतीहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएका छन्। विशेषगरी कलाकारको संघर्ष र जीवनशैलीलाई नजिकबाट देखाइएको भन्दै फिल्मले दर्शकसँग भावनात्मक रूपमा जोडिन सफल भएको प्रतिक्रिया आएको छ।
फिल्ममा कलाकारको व्यक्तिगत संघर्षदेखि श्रीमान श्रीमतीबीचको सम्बन्ध, त्याग र सपनाको यात्रालाई पनि समेटिएको छ। प्रायः दर्शक तथा कलाकारहरूले फिल्म मनोरञ्जनसँगै सन्देशमूलक रहेको टिप्पणी गरेका छन्।
फिल्मका निर्देशक सुविन्दु घोसले पनि फिल्मप्रति दर्शक र कलाकारको सकारात्मक प्रतिक्रिया उत्साहजनक रहेको बताएका छन्।




