काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको राजीनामा माग गरेका छन्। आर्थिक विधेयकमा करका दर हेरफेर भएको तथा सम्बन्धित सूचना चुहावट भएको आरोप सार्वजनिक भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको जिम्मेवारीबारे प्रश्न उठाएका हुन्।
उक्त विषय सोमबार प्रतिनिधिसभाको बैठकमा पनि उठेको थियो। अर्थमन्त्री वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक विधेयकको पृष्ठ संख्या ४६४ रहेको थियो। तर,पछि अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको संस्करण ४४८ पृष्ठको देखिएको छ। यसबाट १६ पृष्ठ हटाइएको र करसम्बन्धी केही व्यवस्थामा परिवर्तन गरिएको आरोप लागिरहेको छ।
यही विवादका बीच सांसद साम्पाङले अर्थमन्त्रीमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने र नैतिक जिम्मेवारीका आधारमा उनले राजीनामा दिनुपर्ने माग गरेका हुन्। साम्पाङले भने,‘अर्थमन्त्रीको ‘बीवाडी’ काण्ड टुंगो नलागून्जेल उनले राजीनामा दिए राम्रो।’




