निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने सरकारी निर्णयविरुद्ध पत्रकार र ‘पापड’ को र्‍याली

हिमाल प्रेस ५ असार २०८३ १८:३१ | Friday, June 19, 2026
10
SHARES
निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने सरकारी निर्णयविरुद्ध पत्रकार र ‘पापड’ को र्‍याली

काठमाडौँ – सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्चाउनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौँमा र्‍याली निकालेको छ।

सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै आन्दोलनरत महासंघले पेशागत संगठन र सरोकारवालासहित काठमाडौँमा वृहत ऐक्यवद्धता र्‍यालीको आयोजना गरेको हो।

महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संंविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका हुनुपर्ने समेत माग राखेको छ। विधिको शासन, नागरिक सर्वोच्चता र पेशागत तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) समेत सहभागी भएर महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको हो।

ऐक्यवद्धता र्‍यालीमा सहभागीहरुले ‘सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दी फिर्ता गर, प्राज्ञिक स्वतन्त्रतामा हस्तक्षेप बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यस क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संविधानले दिएको सूचनाको हकका साथी सूचनाको पहुँचमा राज्यको नियन्त्रण जस्तो देखिएकाले ध्यानाकर्षण गराउनुपरेको बताइन्।

त्यस्तै पापड आबद्ध संघसंस्थाका प्रतिनिधिहरुले विधिको शासन, नागरिक सर्वोच्चताका विषयमा राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए।

२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई बञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राख्दै महासंघ चरणवद्ध आन्दोलनमा छ।

प्रकाशित: ५ असार २०८३ १८:३१ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast