काठमाडौँ- शुक्रबार साँझ साउथवेस्टर्न स्टेट कलेजको परिसरस्थित ‘पीपल चौतारी’ फेरि एकपटक शब्द, स्वर र संवेदनाले भरिएको साहित्यिक उत्सवको साक्षी बन्यो। साउथवेस्टर्न साहित्य समाजद्वारा आयोजित नियमित ‘पीपल चौतारी गजल साँझ’ मा विभिन्न पुस्ता, पेसा र पृष्ठभूमिका स्रष्टाहरू एउटै चौतारीमा भेला भएर गजल र मुक्तकमार्फत जीवनका अनेक रङहरू अभिव्यक्त गरे।
कार्यक्रममा ललितजंग रावल, मानन्धर अभागी, विष्णु थापा ‘बिछोड’, संगीता थापा, सुशीला शर्मा, गणेशबाबु अधिकारी, विपिन मर्म, सागर काफ्ले, रामबहादुर पहाडी, सिद्धिनारायण आचार्य, विदुर तिमल्सिना, कृष्ण महत, सुशील चापागाईं, टीकाराम महरा, विमला दाहाल र उत्तम विचारलगायतका स्रष्टाहरूले गजल वाचन गरेका थिए। उनीहरूको प्रस्तुतिमा प्रेम र प्रणयदेखि जीवनका संघर्ष, बिछोड, सामाजिक यथार्थ र मानवीय संवेदनासम्मका विषयहरू मुखरित भए। यी गजलहरूमा बाँसुरीवादक विजय कार्कीले बाँसुरीको धुनसहित श्रुतिमधुर बनाएका थिए।
त्यसैगरी सन्तोष अम्गाईँ, शैलेन्दुप्रकाश नेपाल, गणेशप्रसाद खतिवडा, सुनिल अधिकारी, राजेन्द्र पौडेल र वसन्त ओली ‘वसन्त’ले मुक्तक वाचन गर्दै साहित्यिक वातावरणलाई थप जीवन्त बनाएका थिए।
समाजका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली भाषासाहित्यका प्रतिष्ठित विद्वान् प्रा. डा. वासुदेव त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। वरिष्ठ गजलकार रामबहादुर पहाडी विशिष्ट अतिथि तथा साउथवेस्टर्न समूहका संस्थापक एवं शिक्षासेवी डा. राजेन्द्र केसी विशेष अतिथि थिए।
कार्यक्रममा बोल्दै प्रा. डा. वासुदेव त्रिपाठीले प्रस्तुत गजल र मुक्तकहरूमा समकालीन युगीन चेतना र संवेदनाको प्रभावशाली अभिव्यक्ति पाएको उल्लेख गरे। ८४ वर्षको उमेरमा पनि साहित्यिक सक्रियता कायम राखेका त्रिपाठीले गजलको विश्वव्यापी विस्तारबारे चर्चा गर्दै नेपाली गजलको संरक्षण र संवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।
‘गजलमा शब्द, स्वर र संगीतको सन्तुलित संयोजन हुनुपर्छ’, उनले भने, ‘प्रेम र प्रणयसँगै जीवनका विविध अनुभूति, हार्दिकता, कोमलता र मानवीय संवेदनाहरू पनि गजलका अभिन्न पक्ष हुन्।’
उनले गजलको ऐतिहासिक यात्राबारे चर्चा गर्दै अरबको मरुभूमिबाट सुरु भएको यो विधा फारसी, उर्दू र हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको स्मरण गराए। नेपाली गजललाई फारसी परम्पराबाट प्रेरणा प्राप्त भएको उल्लेख गर्दै उनले यसको श्रेय मोतीराम भट्टलाई जाने बताए। फारसी भाषाका कठोर नियमहरू नेपाली भाषामा आइपुग्दा केही खुकुलो भए पनि गजलको सौन्दर्य र मूल आत्मा भने सुरक्षित रहेको त्रिपाठीको धारणा थियो।

विशेष अतिथि डा. राजेन्द्र केसीले ‘पीपल चौतारी’ लाई सबैको साझा साहित्यिक चौतारीका रूपमा व्याख्या गर्दै यहाँ मनका धनीहरू भेला भएर आफ्ना अनुभूति र अनुभव साटासाट गर्न सक्ने वातावरण निर्माण भएको बताए।
‘गजल जीवनका भोगाइ, सुख–दुःख, प्रेम, पीडा र अनुभवहरूको कलात्मक अभिव्यक्ति हो’, उनले भने, ‘यस्ता कार्यक्रमहरूले साहित्यिक चेतनाको विस्तार मात्र होइन, समाजलाई भावनात्मक रूपमा पनि जोड्ने काम गर्छन्।’
साउथवेस्टर्न साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले नेपाली कला र साहित्यको विकासलाई केन्द्रमा राखेर २०६८ सालदेखि नियमित रूपमा गजल साँझ आयोजना गर्दै आएको जानकारी दिए। उनका अनुसार साहित्यप्रेमीहरूको सहभागितामा सञ्चालन हुँदै आएको ‘पीपल चौतारी’ले नेपाली साहित्यको विकासमा एउटा इँटा थप्ने विश्वास लिइएको छ।
‘हामी साहित्यसँग रमाउने र नयाँ पुस्तालाई पनि साहित्यतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएका छौँ’, उनले भने, ‘आगामी दिनमा यसलाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ।’
साँझ ढल्कँदै जाँदा पीपलको छहारीमुनि गुञ्जिएका गजलका सेर र मुक्तकका पङ्क्तिहरूले साहित्यप्रेमीहरूलाई भावनाको यात्रामा डोर्याइरहे। उमेर, अनुभव र पृष्ठभूमिको विविधताबीच एउटै सूत्रमा बाँधिएको त्यो साहित्यिक जमघटले नेपाली गजल परम्पराको निरन्तरता र जीवन्तताको सशक्त सन्देश दिएको छ।
तस्बिर सौजन्य : साउथवेस्टर्न स्टेट कलेज




