कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

हिमाल प्रेस १३ असार २०८३ १८:३० | Saturday, June 27, 2026
12
SHARES
कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए फाइल तस्बिर/रासस

जुम्ला- जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ।

सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए।

ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ मा सम्झौता भएका कालिकोटका १२, जुम्लाका तीन र मुगु जिल्लाका एक वटा सडक डिभिजन कार्यालयका मातहतका जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिंहको भनाइ छ।

ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागिपरेको छ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले बताए।

कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नाका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने कार्यालय प्रमुख महतराको भनाइ छ।

यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका १० वटा रुग्ण आयोजनाका ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रकाशित: १३ असार २०८३ १८:३० | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast