रास्वपाको संघीयतासम्बन्धी प्रस्ताव अवसरवादी : पुन

हिमाल प्रेस १४ असार २०८३ १९:०६ | Sunday, June 28, 2026
8
SHARES
रास्वपाको संघीयतासम्बन्धी प्रस्ताव अवसरवादी : पुन

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिक रहेको बताएका छन्।

आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे।

रास्वपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर संघीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको उल्लेख गरे।

उनले रास्वपाभित्रै वैचारिक अस्पष्टता रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिवद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेशसभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गरे।

पुनले संघीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै यस प्रकारको आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी दिए।

सांसद पुनले रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजे पनि कतिपय अभिव्यक्ति र व्यवहारले उनीहरूको अपरिपक्वता र लोकप्रियतावाद मात्र झल्काएको आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast