काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महाधिवेशनका क्रममा देखिएका त्रुटिले आफूहरूलाई लज्जित बनाएको बताएका छन्।
बिहीबार महाधिवेशनस्थलमा पहिलो चरणको मतदान सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘जुन व्यवस्थापकीय कमजोरी भएको छ, त्यसप्रति हामी लज्जित छौँ,’ झाले भने,‘व्यवस्थापकीय कमजोरीका बाबजुद पनि प्रतिनिधहरू बस्नुभयो त्यसका लागि उहाँहरूलाई धन्यवाद छ।’
प्रवक्ता झाले पहिलो चरणको मतदानमा सन्तोषजनक सहभागिता रहेको बताए।
उनले भने,‘धेरै साथीहरू जानु भयो भनेर हामी जति तर्सिएका थियौँ, त्यस्तो रहनेछ, उपस्थितिअनुसार सन्तोषजनक सहभागिता रह्यो।’
मतदानका लागि जम्मा ८० वटा बुथ बनाइएकोमा प्रत्येकमा औसतमा ३१० जति मत खसेको झाको भनाइ छ।
पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित गर्न मतदान भएकोमा दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुने जनाइएको छ।
दोस्रो चरणको मतदान अपराह्न ४ बजेदेखि सुरू हुने प्रवक्ता झाले बताए।




