काठमाडौँ- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दुईदिने राष्ट्रिय सम्मेलनको शिक्षाविद् केदारभक्त माथेमाले सोमबार काठमाडौँमा उद्घाटन गरेका छन्।
उनले सम्मेलनमा शिक्षाको राष्ट्रिय प्राथमिकता, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, सरोकारवाला र अभिभावकको भूमिकाबारे धारणा राखे।
प्राज्ञ माथेमाले सामुदायिक विद्यालयले समाजका हरेक तप्कालाई जोड्ने भएकाले अपनत्व विकास र सुधारमा निरन्तर लाग्नुपर्ने बताए।
कार्यक्रममा शिक्षाविज्ञ डा.विष्णु कार्कीले विद्यालय शिक्षाको राष्ट्रिय प्राथमिकता र अभिभावकको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
शिक्षा विशेषज्ञ डा.विद्यानाथ कोइरालाले कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षक र अभिभावक इमानदार हुनुपर्ने बताए।
अभिभावक महासंघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले दुर्गमका गरिब बालबालिकाका लागि राज्यले गुणस्तरीय शिक्षाको हक प्रदान गर्नुपर्ने बताए।
कार्यक्रममा महसंघका संस्थापक अध्यक्ष कृष्ण थापालगायतलाई सम्मान गरिएको थियो।




