सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली क्रिकेट कप–२०८३ सुरु हुँदै छ। कर्णाली खेलकुद परिषद्को सहयोग तथा कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रदेशस्तरीय टी–२० प्रतियोगिता साउन २ गतेसम्म सञ्चालन हुनेछ।
कर्णालीमा क्रिकेटको पहुँच विस्तार गर्दै नयाँ प्रतिभाको पहिचान र खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले हुन लागेको प्रतियोगितामा कर्णालीका आठ जिल्लाका टोली सहभागी हुने आयोजकले जनाएको छ। सहभागी जिल्लामा मुगु, कालिकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम रहेका प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिए।
हिमाली जिल्ला मुगु र जुम्लाले प्रदेशस्तरीय कर्णाली क्रिकेट कपमा पहिलोपटक सहभागिता जनाउन लागेका छन्। यसअघिका प्रतियोगितामा जुम्ला एकपटक सहभागी भए पनि खेलाडी अन्य जिल्लाको राख्नुपरेको थियो।
यसपटक मुगु पनि सहभागी हुनुलाई कर्णाली क्रिकेटको विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।संघका सचिव केसीका अनुसार प्रतियोगिता सञ्चालनका लागि कर्णाली खेलकुद परिषद्ले करिब २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्रतियोगिताका खेलहरू जिल्ला क्रिकेट मैदान कालिञ्चोक र वीरेन्द्रनगर मैदान गरी दुई मैदानमा सञ्चालन हुनेछन्। सबै खेल काष्ठमण्डप टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले एक लाख एक हजार, उपविजेता टोलीले ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही पाँच हजार, प्लेयर अफ द सिरिजलाई १० हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई दुई हजार प्रदान गरिनेछ।
आयोजकले प्रतियोगिताले जिल्लास्तरमा क्रिकेट गतिविधि विस्तार, नयाँ खेलाडी उत्पादन तथा कर्णालीमा क्रिकेटको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। ‘पछिल्लो समय क्रिकेटप्रति चासो बढ्दै गएको छ,’ केसीले भने, ‘मुगुले पनि सहभागिता जनाउँदा हिमाली जिल्लामा पनि अब खेलाडी उत्पादन हुँदै छन् भन्ने बुझिन्छ जुन खुसीको कुरा हो।’




