युद्धविराम प्रयासकाबीच इजरायलद्वारा लेबनानमा आक्रमण जारी

हिमाल प्रेस २२ जेठ २०८३ १८:१२ | Friday, June 5, 2026
12
SHARES
युद्धविराम प्रयासकाबीच इजरायलद्वारा लेबनानमा आक्रमण जारी

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा गरिएको युद्धविराम प्रयासलाई अस्वीकार गर्दै हिजबुल्लाहविरुद्धको आक्रमणको चेतावनी पछि इजरायली वायु सेनाले शुक्रबार लेबनानको गाउँमा आक्रमण गरेको छ।

गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन हिज्बुल्लाहले मार्च २ मा इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको चरम युद्धमा तानिएको थियो।

यस हप्ता वासिङ्टनमा भएको लेबनानी र इजरायली दूतहरूको संयुक्त बैठकमा हिजबुल्लाहले स्पष्ट असहमती जनाउँदै सशर्त युद्ध–विराममा सहमत भएको थियो। जसमा हिजबुल्लाह समूहले प्रभावकारी युद्धविराम र दक्षिण लेबनानबाट पूर्ण इजरायली फिर्तीको माग गरेको थियो।

इजरायलले इरानसँगको युद्ध सुरु भएदेखि लेबनानमा आफ्नो चर्को आक्रमण गरेको छ, जुन युद्ध आफ्नो सहयोगी अमेरिकासँग मिलेर सुरु गरेको थियो।

शुक्रबार इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले दक्षिण लेबनानको सराफान्डसहित ६ वटा अन्य सहर र गाउँका बासिन्दाहरूलाई तत्काल खाली गर्न चेतावनी दिएको बताएका छन्।

यस अघि उनले दक्षिणी लेबनानको लिटानी नदीको उत्तरमा रहेका तीनवटा गाउँका वासिन्दाहरुलाई आफ्नो घर छोड्न चेतावनी दिएको जनाएका थिए।

आफ्नो सुरक्षाका लागि, तुरुन्तै आफ्नो घर खाली गरी सहरबाट कम्तिमा एक हजार मिटर टाढा खुला क्षेत्रमा जान आदेश दिएको प्रवक्ता अद्राईले उल्लेख गरेका छन्।

हिजबुल्लाहका कार्यकर्ताहरू, उनीहरूको सुविधाहरू, वा उनीहरूको हतियारहरू भण्डारणको नजिक रहेमा उनीहरूलाई खतरा रहने पनि सुझाव दिइएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले चेतावनी जारी गरिएका गाउँहरूबाट सामूहिक विस्थापन भएको रिपोर्ट गर्दै एउटा गाउँमा आक्रमण भईसकेको जनाएको छ।

लेबनानको दक्षिणी सहर टायरमा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानको नागरिक सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ।–रासस

प्रकाशित: २२ जेठ २०८३ १८:१२ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast