काठमाडौँ- सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिकाबाट ठूलो परिमाणमा फर्सीको बीउ बरामद गरेको छ।
सशस्त्र प्रहरीको टोलीले मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित सेल्स सप्लयार्सबाट ७५ बोरा फर्सीको बीउ बरामद गरेको हो।
नवीनकुमार यादवको दिनकर सेल्स सप्लयार्समा अवैध रुपमा भण्डारण गरी राखिएको फर्सीको बीउ सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १० सर्लाहीको टोलीले बुधबार राति नै सप्लायर्समा छापा हानेको थियो।
त्यस क्रममा केही स्थानीयहरूले ढुंगामुढा समेत गरेको प्रवक्ता कार्कीले बताए। स्थिति नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।
ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति भएको छ। त्यस्तै बरामद बीउ सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।




