स्वास्थ्य मन्त्रालय
काठमाडौँ- सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवाबारे सहज जानकारी दिन ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको छ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। साथै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड-२०७७ को दफा ७०(घ) अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत बेड विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
यही कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता तथा सेवामा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यले अनलाइन प्रणालीका रूपमा ‘फ्री हेल्थ पोर्टल’ विकास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पोर्टलमार्फत विभिन्न अस्पतालमा उपलब्ध निःशुल्क बेडको संख्या तथा अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सकिनेछ। थप जानकारी आवश्यक परे सम्बन्धित अस्पतालका फोकल पर्सनसँग सीधै सम्पर्क गर्न सकिने व्यवस्था पनि गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रणालीले निःशुल्क उपचार सेवा आवश्यक पर्ने नागरिकलाई अस्पताल खोज्न सहज बनाउने तथा निःशुल्क बेड व्यवस्थापनलाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
अस्पतालहरूमा उपलब्ध निःशुल्क बेडको अवस्थाबारे जानकारी लिन ‘फ्री हेल्थ पोर्टल’मा गएर विवरण हेर्न सकिनेछ।




