धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

हिमाल प्रेस १३ असार २०८३ १६:३८ | Saturday, June 27, 2026
6
SHARES
धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरान – धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्।

संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०/५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।

कूल ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो। निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो।

बसपार्क २४ करोड ८६ लाख नौ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए।

यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा ७२ वटा दुईपांग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए।

बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ।

अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको उनले बताए।

उद्घाटन समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले स्मार्ट बसपार्क सञ्चालनमा आएसँगै धरानको सार्वजनिक यातायात सेवा थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री हुने विश्वास व्यक्त गरे। उनले धरानको पुरानो बसपार्क साँघुरो हुँदा यात्रुको भीड, ट्राफिक जाम तथा विभिन्न असुविधा हुने गरेको उल्लेख गर्दै नयाँ बसपार्कले ती समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।

बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लगिने उनले प्रतिबद्धता जनाए।

प्रकाशित: १३ असार २०८३ १६:३८ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast