तनहुँ- व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, वरन्डा तथा टिनका संरचनाहरू ३५ दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई आग्रह गरेको छ।
नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नगरवासीको दायित्व भएको उल्लेख गर्दै नगर क्षेत्रको केन्द्र दमौली बजारमा सडक अतिक्रमण गरी बनाइएका संरचनाका कारण आवागमन तथा सार्वजनिक उपयोगमा समस्या उत्पन्न भएको जनाएको छ।
व्यास नगर कार्यपालिकाको गत जेठ २२ गते बसेको २३८औँ बैठकले यस्ता संरचना हटाउने निर्णय गरेपछि आज ३५ दिने सार्वजनिक सूचना जारी गरिएको हो।
सूचनाअनुसार सम्बन्धित घरधनीले तोकिएको अवधिभित्र आफ्नै पहलमा संरचना हटाउनुपर्नेछ। निर्धारित समयभित्र संरचना नहटाएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी व्यास नगरपालिकाले आफैँ हटाउने जनाएको छ।
नगरपालिकाका इञ्जिनियर अमृत केसीद्वारा जारी सूचनामा सार्वजनिक हित र सडक व्यवस्थापनलाई प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा गरिएको छ।




