राजदूत नियुक्ति : नयाँ परिवेश, नयाँ अपेक्षा

मोहनकृष्ण श्रेष्ठ १४ असार २०८३ १४:०८ | Sunday, June 28, 2026
6
SHARES
राजदूत नियुक्ति : नयाँ परिवेश, नयाँ अपेक्षा

२५ सेप्टेम्बर १७६८ को त्यो दिन काठमाडौँ उपत्यकामा इन्द्रजात्रा उल्लासपूर्वक मनाइँदै थियो। राजाप्रजामा जात्राको उन्माद देखिन्थ्यो। त्यही दिन नियतिले अर्कै इतिहास रच्नेवाला थियो भन्ने कसैलाई थाहा थिएन। गोरखाली फौजले साततिरबाट आक्रमण गरेर हनुमानढोका दरबार परिसरमा पुगेपछि सबै अवाक् भए। राजा भागेर तलेजु मन्दिरमा शरण लिन पुगे। जनताले के भएको बुझ्नै सकेनन्। पछि होस आएपछि थाहा भयो, अब कान्तिपुर त गोरखालीको अधीनमा गएछ।

बडामहाराज पृथ्वीनारायण शाहले आफू नयाँ राजा भएको घोषणा गरे। जनताको सांस्कृतिक परम्परालाई सम्मान गर्ने अडान राखे। नयाँ राजा माता कुमारीको घरमा गएर ढोगभेट गरेपछि माताले दुवै हात उनको शिरमा राखी आशीर्वाद दिएको भन्ने जनश्रुति छ। यसरी त्यो दिन नयाँ नेपालको जन्म भएको थियो।

बडामहाराज दूरदर्शी थिए। उनलाई नेपालको भौगोलिक परिस्थितिका बारेमा पूर्ण ज्ञान थियो। उत्तर तथा दक्षिणमा रहेका विशाल मुलुकहरूको शक्तिबारे थाहा थियो। यसैले उनले नेपाललाई दुई ढुंगाबीचको तरुलको संज्ञा दिए। उनले दुवै मुलुकसँग राम्रो सम्बन्ध राख्नुपर्ने र चिढाउन नहुने विचार पोखे। यही सोचलाई नेपालको सन्तुलित तथा स्वतन्त्र परराष्ट्र नीतिको प्रारम्भिक वैचारिक आधार मान्न सकिन्छ।

आफ्नो देशको भौगोलिक अवस्थालाई बुझी कसरी देशलाई सुरक्षित राख्ने अभिप्राय यहीँबाट थालनी भएको हो। यस सोचको प्रभाव आज पनि नेपालको परराष्ट्र नीतिमा देखिन्छ।  हुन त सन् १९५५ देखि नेपालले असंलग्न परराष्ट्र नीतिलाई स्पष्ट रूपमा अवलम्बन गरेको हो। असंलग्न देशहरूको आन्दोलनमा सहभागी भएयता नेपालले आफ्नो परराष्ट्र नीतिलाई असंलग्न नीति तथा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय कानुनलाई मानी परराष्ट्र नीति चलाउँदै आएको छ।

बडामहाराजका मननयोग्य वाक्य थिए– घुस दिने र लिने दुवै अपराधी हुन्। भ्रष्टाचारले थिलथिलो भएको हाम्रो मुलुकमा भ्रष्टाचारविरुद्धको लडाइँ हालसालै सशक्त रूपमा चलिआएको छ।

भनिन्छ- परराष्ट्र नीति घरेलु नीतिको एक अभिन्न अंग हो। यस कुरामा कुनै विवाद छैन। परराष्ट्र नीतिअन्तर्गत घरेलु तथा बाह्य कूटनीति चल्छन्। कूटनीतिलाई मूर्त रूप दिन देशहरूले अन्य मित्रवत् देशहरूमा राजदूतावास तथा अन्य कूटनीतिक निकाय स्थापना गरेका हुन्छ्न्। यो अन्तर्राष्ट्रिय परिपाटी सदीयौँदेखि चल्दै आएको छ। अनि ती कूटनीतिक नियोगहरू चलाउन राजदूत तथा अन्य कर्मचारी नियुक्त गरिन्छन्। विश्वमा प्रचलित कूटनीति सञ्चालनको पद्धति यही हो।
देशको एकीकरण भएदेखि २५८ वर्ष बिति सकेको छ। धरती यही हो, आकाश यही हो, हिमाल, पहाड नदीनाला, कन्दरा सबै उही छन्। केवल बदलिएको छ त देशमा वातावरण। विभिन्न राजनीतिक पद्धतिहरूपश्चात् हाल मुलुकमा गणतन्त्र आएको छ। जनताको विश्वास तथा आशा बढेको छ। अब्राहम लिंकनले भनेका थिए– जनताले जनताका लागि गर्ने शासन पद्धति नै प्रजातन्त्र हो।

अब कूटनीतिको केही कुरा गरूँ। विभिन्न कालखण्डमा नेपालमा पनि विभिन्न खालका सक्षम कूटनीतिज्ञहरू पैदा नभएको होइनन्। खासगरी अन्तर्राष्ट्रिय क्षेत्रको कुरा गर्दा सन् १९६१ मा संयुक्त राष्ट्रसंघले आफ्नो दोस्रो महासचिवको विमान दुर्घटनाको छानबिन समितिको संयोजकमा नेपालका स्थायी प्रतिनिधि ऋषीकेश शाहलाई नियुक्त गरेको थियो। त्यति बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिएको ६ वर्ष मात्र भएको थियो। नेपाल तथा यसका प्रतिनिधिप्रति देखाएको एक अभूतपूर्व विश्वासको साथ लिइन्छ त्यो घटनालाई।

नेपालमा विदेशमा पठाउने राजदूत नियुक्ति प्रक्रिया आफ्नै खालको छ। ३० जना राजदूतमध्ये ५० प्रतिशत परराष्ट्र मन्त्रालयका करियरवाला तथा ५० प्रतिशत विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूबाट नियुक्त गरिँदै आएको छ। अन्य देशहरूको तुलनात्मक रूपमा अध्ययन गर्दा राजदूतहरू बढी मात्रामा करियर भएका व्यक्तिहरूलाई नियुक्त गरिन्छ।

करियरबाट आएका राजदूतहरू कम्तीमा विभिन्न कूटनीतिक पदमा २५।३० वर्ष काम गरी अनुभवले खारिएका हुन्छन्। विषयवस्तुको ज्ञानका साथै अन्तर्राष्ट्रिय  परिस्थितिका बारेमा पनि ज्ञान राख्छन्। यसो भन्दै बाहिर अन्य विधाका व्यक्तिहरू काबिल हुनै सक्दैनन् भन्ने पनि होइन। अन्य सेवाबाट नियुक्ति पाएका कतिपय व्यक्तिहरूले उदाहरणीय काम गरेर आफ्नो कौशल देखाएको वर्णन पढ्न पाइन्छ।

हालको परिस्थिति विचार गर्दा देशमा एउटा अभूतपूर्व नौलो वातावरण पैदा भएको छ। त्यो के भने अब सरकारले त्यो ५० प्रतिशतबाट नियुक्त रिने राजदूतहरूका लागि जनमानसमा आह्वान गरी निवेदनहरू प्राप्त गरेका छन्। अब तीमध्येबाट सबभन्दा उपयुक्त व्यक्तिहरूको चयन गरी नियुक्ति गरिने अवस्था छ। यसले गर्दा देशमा एउटा नयाँ प्रकारको सार्वजनिक बहस र अपेक्षा सिर्जना भएको छ। अब राजदूतमा कस्ता व्यक्तिहरू चयन होलान् भन्नेबारे सर्वत्र चासो बढेको छ।

जसले नियुक्ति पाए पनि, जुन व्यक्ति चयन भए पनि उसको सबभन्दा निहित कर्तव्य भनेको देशको हित प्रवर्धन गर्नु हुनेछ। आफूलाई नियुक्त गरेको देशसँगको सम्बन्धलाई बढावा दिनु हुनेछ। साथै त्यस देशमा बसेका नेपालीलाई संरक्षण तथा सहयोग गर्नु परम कर्तव्य हुन आउँछ। यी तीन अवयवलाई राम्ररी मनन गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने व्यक्तिलाई नै सफल राजदूतका रूपमा लिइनुपर्दछ। चाहे त्यो करियर वाला होस् वा अन्तै विधाबाट नियुक्त।

राजदूत पदमा नियुक्त गर्दा निकै सोचविचार पुर्‍‌याउनु उपयुक्त हुन्छ। उम्मेदवारको वैयत्तिक विवरण, शिक्षदीक्षा, सोच, कार्यक्षमताप्रतिको लगाव, दूरदृष्टि आदि महत्त्वपूर्ण पाटाहरू हुन्। उमेरप्रति पनि चनाखो हुनुपर्छ। शिक्षामा निकै राम्रो व्यक्ति भए पनि अनुभव अभावमा निजले राम्ररी आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैन। उमेरले पाका व्यक्ति भए पनि अनुभवले खारिएको छ तथा शारीरिक तन्दरुस्ती छ भने त्यस्तो व्यक्ति पनि राष्ट्र सेवाका लागि उपयुक्त हुन सक्छ।

म शिष्टाचार महापालको पदमा कार्यरत रहँदा देशले यस्ता एक जना पाका व्यक्तिलाई राजदूत पदमा नियुक्ति गरेको थियो। त्यस बेला उनको उमेर ७६ वर्षको थियो। मेरो कार्यालयमा भेट हुँदा उनी निकै फुर्तिलो, हट्टाकट्टा, सफासुग्घर लुगा लगाएको खाइलाग्दो व्यक्तिका रूपमा मैले पाएको थिएँ। म पेरिसमा कार्यरत रहँदा एक साँझ एउटा पार्टीमा अर्जेन्टिनाको राजदूत एल्डो फेरेरसँग भेट भयो। मैले उनको उमेर सोधे। उनले स्पेनिस भाषामा मलाई ओचेन्टा दोस भने। यसको अर्थ ८२ वर्ष हो। म अलि अकमकिएको पाएपछि उनले फेरि भने, म प्रधानमन्त्रीबाहेक अन्य सबजसो मन्त्री भइसकेको छु। घरमा आराम गरी राखेको अवस्थामा नयाँ प्रधानमन्त्रीले बोलाए र फ्रान्ससँग हाम्रो महत्त्वपूर्ण सम्बन्ध छ। तपाईँ राजदूत भएर गइदिनुस् भनेर अनुरोध गरेकाले आएको भने। अब अर्जेन्टिना जस्तो देशमा राजदूत हुन लायक, युवा जोसजाँगर भएको मानिस नहोला र? यसलाई अर्काे दृष्टिकोणले हेर्दा राष्ट्रले कुनै अमुक व्यक्तिको अनुभवलाई देशका लागि प्रयोग गर्न चाहेको अर्थमा पनि लिन सकिन्छ।

अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले आफ्ना मित्र फ्रान्क विस्नरलाई भारतका लागि राजदूत नियुक्त गरेका थिए। तीन वर्षको कार्यकालमा उनले अमेरिका तथा भारतको व्यापारलाई निकै उचाइमा पुर्‍याउन योगदान दिए। राष्ट्रपति खुसी भएर कार्यकाल थप्न खोज्दा उनले मानेनन्। फ्रान्समा सरुवा गर्छु भन्दा पनि मानेनन्। उनी आफ्नै देश फर्केर आफ्नै कम्पनीमा सक्रिय भए। राजदूत नियुक्तिमा व्यक्तिको ओहदा पनि महत्त्वपूर्ण मानिन्छ। राम्रो भूमिका तथा उच्च ओहदाको व्यक्तिलाई नियुक्ति गर्दा ‘होस्ट’ राष्ट्र खुसी हुन्छ। विगतमा अमेरिकाले उपराष्ट्रपति तथा राष्ट्रपति पदको चुनावमा हारेका वाल्टर मोन्देललाई राजदूत पदमा नियुक्त गर्दा जापान निकै खुसी भएको थियो।

कूटनीति आफैँमा विशिष्ट ज्ञान, अनुभव र संयमको क्षेत्र हो। यसमा करियर राजदूतहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। एउटा निर्दिष्ट कुरा के हो भने देशको राजदूत पदको जिम्मेवारी बोक्ने व्यक्तिमा आफ्नो देश तथा जनताको भलाइका लागि काम गर्ने हुटहुटीचाहिँ हुनैपर्छ। क्षमता छ भने प्रदर्शन गर्नैपर्छ। गुड्डी हाँकेर मात्र जिम्मेवारी पूरा गरेको ठहर्दैन।

संसदीय समितिमा अनेक गफ हाँकेर दूतावासमा पुगेपछि बुर्कुसी मार्दै तलबभत्ता पचाउने व्यक्तिहरूबाट देश तथा जनतालाई न्याय हुन सक्तैन। नेपालको आर्थिक अवस्था जस्तै भए पनि मेरो अनुभवमा देशले राजदूतलाई सक्दो तवरले तलबभत्ता, सरसुविधा दिएकै अनुभव गरेको थिएँ। कतिपय अन्य मुलुकहरूले त हाम्रो भन्दा कम रकम दिन्छन्। त्यो पनि समयमै नपठाउँदा कति कठिन परिस्थिति भोगी आएका छन्। एक पटक एउटा सानो अफ्रिकी मुलुकका राजदूतले मसँग त्यति हिमचिम नभए तापनि बजेट नआएको कुरा गरी केही रकम सापट पाउन सकिन्छ कि भनेर अनुरोध गरेकीे थिइन्।

राजदूतको अर्काे महत्त्वपूर्ण पाटो हो, अवधि। हाम्रो व्यवस्थामा कूटनीतिक व्यक्तिहरू चाहे राजदूत वा अन्य कर्मचारी, एक अवधि भन्ने चलन छ। त्यो भनेको पूरा चार वर्ष हो। व्यक्तिले मित्रराष्ट्रमा खुट्टा टेकेको दिनदेखि नै गणना गर्ने चलन छ। अब प्रश्न उठ्छ यो अवधि लामो हो कि छोटो। कुनै राजदूतले राम्ररी काम गरी आएको छ भने चार वर्ष कार्यावधिमै सीमित नराखे पनि हुन्छ।

दुई दुई वर्ष गरी कार्यकाल थपिदिए हुन्छ। कुनै राजदूतमा कार्यक्षमता छैन, केही पनि गर्दैन भने त्यसलाई फर्काए पनि हुन्छ। कार्यक्षमता कसरी मापन गर्ने त? त्यो हो राजदूतको सुझबुझ तथा क्रियाशीलता। राजदूतको सक्रियताले देशलाई निकै फाइदा हुन सक्छ। सक्षम राजदूतले जहिले पनि आफ्नो जिम्मेवारीबोध गरेको हुन्छ। असक्षम राजदूत क्रियाशील नभई यत्तिकै बसेको हुन्छ।

सन् २००५ मा म नायब शिष्टाचार महापाल पदमा कार्यरत थिएँ। थाइल्यान्डको राजदूत थिइन् श्रीमती फेनचोम इन्चरोइन्साक। उनको जिउडाल भव्य थियो। दिनहुँजस्तो पार्टीहरूमा भेट हुँदा उनले मलाई आफ्नो सानो भाइ जस्तै व्यवहार गर्थिन्। एक दिन राजाको जन्मोत्सवका उपलक्ष्यमा दूतावासको निमन्त्रणा कार्ड प्राप्त भयो।

त्यसमा रोयल थाई राजदूत तथा थाइल्यान्ड इन्कको सीईओ लेखिएको थियो। अनि मैले उनलाई सोधैँ यसरी किन महामहिमज्यू? उनका अनुसार थाइल्यान्डका प्रधानमन्त्री थाक्सिन सिनावात्राले देशलाई एउटा कम्पनीका रूपमा चलाउने र फाइदाबेफाइदाका रूपमा कूटनीति चलाउने। यो सुनेपछि उच्चस्तरको व्यापारी प्रधानमन्त्री हुँदा सोच कस्तो हुँदो रहेछ भनेर बुझेको थिएँ।

हाम्रो परिप्रेक्ष्यमा पनि कूटनीति क्षेत्रका लागि राज्यले अर्बौँ रूपैयाँ बजेटका रूपमा दिएको छ। हामीसँग भएका सौम्य शक्तिलाई विदेशमा प्रवर्धन गरी देशलाई फाइदा पुर्‍याउनु सफल कूटनीतिको प्रमुख उद्देश्य हुनु आवश्यक छ। २०५२ सालदेखि देशले परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई जोडेको छ।

यसका उद्देश्यहरू राम्रा छन्। सफल तथा प्रभावकारी कार्यान्वयन हुनुपर्छ। यसका लागि नियमित बजेट मात्र दिएर हुन्न, उचित तथा आवश्यक देशअनुसारको रकम दिएर काममा लगाउनुपर्छ। विश्वव्यापीकरणको युगमा आफ्नो तुलनात्मक क्षमता तथा फाइदा भएको क्षेत्रमा सशक्त भएर प्रवर्धन गर्नु आवश्यक छ। यसका लागि अब हाम्रो कूटनीतिक संयन्त्रलाई सशक्त रूपमा चलाउनुपर्‍यो। अब चाँडै सरकारले गर्ने नयाँ परिवेशमा राजदूत नियुक्तिले आउने दिनमा के होला भन्ने केही आभास दिनेछ।

प्रकाशित: १४ असार २०८३ १४:०८ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast