सुस्ता क्षेत्रमा डुंगा तर्दै स्थानीय। तस्बिर स्रोत : सुस्ता गाउँपालिका
काठमाडौँ- सरकारले सुस्ता सीमा विवादबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने भएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार यस्तो बताएका हुन्।
उनले सुस्तामा देखिएको सीमासम्बन्धी विवादमा कूटनीतिक माध्यमबाट आवश्यक कदम चाल्ने जानकारी दिए। मन्त्री पोखरेलले नेपाली नागरिकले सुरुदेखि सुस्तामा सीमाको रक्षा गरेको बताए। उनले भने, ‘पहिलादेखि नै सुस्तामा बस्नुभएका नेपाली नागरिकले सीमाको रक्षा गरेर बसिरहनुभएको छ। उहाँहरूलाई पनि हामीले नमन गर्नुपर्छ।’
नवलपरासीको सुस्ता सीमा लामो समयदेखि विवादित बनेको छ। नेपाली भूमि सुस्तालाई भारतले आफ्नो बनेर दाबी गरेपछि यो क्षेत्र विवादित बनेको हो। शुक्रबार सुस्तामा विनाअनुमति भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको बताइएको छ। सुस्ता गाउँपालिका-५ स्थित थारू टोलको खेतमा काम गरिरहेका स्थानीयले शुक्रबार बिहान एसएसबी टोलीलाई देखेका थिए।
नेपाली भूमिमा प्रवेश गरेर हस्तक्षेप गर्न खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए। नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि स्थिति सामान्य बनेको थियो।
पश्चिम नवलपरासीको सनहीदेखि कुडियासम्म सीमा स्तम्भ भए पनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा कुनै पिलर छैन। पिलर नभएको क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गरेको आरोप स्थानीयको छ।




