यस वर्ष प्रिमनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

हिमाल प्रेस ५ असार २०८३ ११:१० | Friday, June 19, 2026
28
SHARES
यस वर्ष प्रिमनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा फाइल तस्बिर

काठमाडौँ- यस वर्षको प्रिमनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रिमनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ।

यस वर्ष भने औसतको १४५ दशमलव पाँच प्रतिशत अर्थात् ३३९ दशमलव सात मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा २०८ मिलिमिटर वर्षा (अति भारी वर्षा) भएको मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ। झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले पछिल्लो केही दिन सीमित क्षेत्रमा खण्डवृष्टि भइरहेको जानकारी दिँदै त्यसको ठूलो क्षति वा असरका बारेमा भने अहिलेसम्म जानकारी नआएको बताए। सो क्षेत्रबाट मनसुन भित्रिने सँघारमा रहेको विभागले जनाएको छ।

त्यस्तै इलाम, मोरङ, सुनसरी, सिन्धुलीका केही मापन केन्द्रहरूमा पनि भारी वर्षा मापन भएको छ। तर, यसपाली सीमित क्षेत्रमा वर्षा भइरहेको छ। यता पश्चिम क्षेत्रको कास्की लमजुङ गोरखाका केही मापन केन्द्रमा समेत भारी वर्षा मापन भएको छ।

सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रिमनसुनको विश्लेषण गर्दै आएको र सोही क्रममा यसपाली ४५ वर्षयताकै बढी वर्षा भएको हो।

प्रकाशित: ५ असार २०८३ ११:१० | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast