काठमाडौँ- काठमाडौँको टोखा नगरपालिका-५ बसुन्धारास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा आगलागी भएको छ।
बुधबार बिहान करिब ३ बजे भएको उक्त आगलागी नेपाली सेना, नं. १ विपद् व्यवस्थापन गण तथा नरसिंहदल गणबाट दुई वटा दमकलसहित खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा विभिन्न स्थानीय तहका दमकलहरू, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चन्द्रागिरि नगरपालिका तथा जुद्ध वारुण यन्त्र (वसन्तपुर) को संयुक्त सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आगलागीमा मानवीय क्षति भने नभएको जनाइएको छ। यद्यपि सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) सहित सोही परिसरमा रहेका किराना पसल र टेलिभिजन पसलमा समेत क्षति पुगेको छ।




