फिलिपिन्समा भूकम्पबाट ३५ जनाको मृत्यु, हजारौँ विस्थापित

हिमाल प्रेस २६ जेठ २०८३ १५:५४ | Tuesday, June 9, 2026
12
SHARES
फिलिपिन्समा भूकम्पबाट ३५ जनाको मृत्यु, हजारौँ विस्थापित फिलिपिन्सको जनरल सान्तोसमा मंगलबार गएको भूकम्पपछि क्षतिग्रस्त घर। तस्बिर : एपी/रासस

काठमाडौँ- फिलिपिन्सको दक्षिणी भागमा रहेको मिन्डानाओ टापुको तट नजिक सोमबार बिहान गएको शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा ३५ पुगेको छ। स्थानीय अधिकारीहरूले जनाएअनुसार भूकम्पपछि ठूलो मात्रामा जनधनको क्षति भएको छ।

भूकम्प स्थानीय समयअनुसार बिहान ०७:३७ बजे गएको थियो। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अस्ट्रेलियामा सुनामी चेतावनी जारी गरिएको थियो। यद्यपि ती ठाउँमा सुनामी उत्पन्न भएन।

अधिकारीहरूले सार्वजनिक गरेका विवरणअनुसार सोक्सक्सार्जेन क्षेत्रमा ३१ जनाको र दाभाओमा ४ जनाको मृत्यु भएको छ। भूकम्पमा कम्तीमा एक सय ३४ जना घाइते भएका छन् भने करिब १० हजार परिवार विस्थापित भएका छन्।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राहत तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको बताएका छन्। उनले बीबीसीसँग भने, ‘राष्ट्रिय सरकार सक्रिय छ र हामी मिन्डानाओलाई एक्लै छोड्ने छैनौँ।’

भूकम्पको समय देशको नयाँ शैक्षिक वर्षको पहिलो दिनसँग जुधेकाले प्रभावित क्षेत्रमा विद्यालयहरू बन्द गरिएको छ। दाभाओ ओक्सिडेन्टलको एक विद्यालयमा विद्यार्थीहरू भूकम्पका कारण त्रासमा जमिनमै बसिरहेको भिडियो सार्वजनिक भएको छ। यद्यपि कुनै विद्यार्थी घाइते नभएको विद्यालयले जनाएको छ।

अधिकारीहरूका अनुसार भूकम्पपछि एक सय ३० भन्दा बढी परकम्पहरू अनुभव गरिएको छ।

फिलिपिन्स रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले भूकम्प सामान्य भए पनि यस्ता शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याउने गरेका छन्। गत वर्ष सेप्टेम्बरमा मध्य भिसायस क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्पमा ७० भन्दा बढीको मृत्यु भएको थियो।

भूकम्पपछि जापानका अधिकारीहरूले सुनामी चेतावनी जारी गर्दै तट क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका थिए। पछि ओकिनावा क्षेत्रमा केही सेन्टिमिटर मात्र उचाइका छालहरू देखिए भने ओगासावारा टापुमा २० सेन्टिमिटर उचाइको सुनामी मापन गरिएको थियो।

प्रकाशित: २६ जेठ २०८३ १५:५४ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast