प्राकृतिक विज्ञान संग्रहालयमा मनाइयो अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस

हिमाल प्रेस ३० जेठ २०८३ ११:१८ | Saturday, June 13, 2026
28
SHARES
प्राकृतिक विज्ञान संग्रहालयमा मनाइयो अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस

काठमाडौँ- रैथाने, संकटापन्न र औषधीय गुणयुक्त बोटबिरुवाले भरिपूर्ण त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, प्राकृतिक विज्ञान संग्रहालयमा प्रथम अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस मनाइएको छ। संग्रहालय र वातावरण कानून समाज नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको सभाहलमा अन्तरक्रिया गरी मनाइएको हो।

कार्यक्रममा वनस्पति, वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा, जैविक विविधता तथा संरक्षणसम्बन्धी विभिन्न विषयमा विज्ञहरूद्वारा महत्वपूर्ण प्रस्तुति दिइएको थियो । प्राकृतिक विज्ञान संग्रहालयका पूर्व प्रमुख प्रा. डा. केशव श्रेष्ठले ‘स्वयम्भू वातावरण पार्क, प्राकृतिक विज्ञान संग्रहालय’बारे कार्यपत्र प्रस्तुत गर्दै स्वयम्भू क्षेत्रको वनस्पतिको अवस्था, वातावरणीय महत्व, वनस्पति उद्यानको स्थापना इतिहास, विकासक्रम तथा संरक्षणका प्रयासहरूबारे विस्तृत जानकारी दिए।

प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा. ईशान गौतमले ‘नेपालमा वनस्पति उद्यान र वन्यजन्तु क्षेत्रको कार्यान्वयन : विज्ञान, शिक्षा र संरक्षणबीचको सम्बन्ध’ विषयमा प्रस्तुति दिए। उनले वनस्पति उद्यानलाई केवल मनोरञ्जनको स्थल नभई अनुसन्धान, वातावरणीय शिक्षा र जैविक विविधता संरक्षणको महत्वपूर्ण केन्द्रका रूपमा र नेपालमा साइटिस महासन्धि कार्यान्वयनका निम्ति त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान सङ्ग्रहालय सन् १९९० देखि नै नेपाल सरकारद्वारा तोकिएको साइटिसको वन्यजन्तुतर्फको वैैज्ञानिक निकाय रहिआएको र यसको भूमिका अयन्त महत्वपूर्ण रहेको व्याख्या गरे।

त्यसैगरी वातावरण कानुन समाज नेपालका कोषाध्यक्ष तथा अधिवक्ता राजु फुँयालले वन्यजन्तु संरक्षणसम्बन्धी कानुनी व्यवस्था, संरक्षणका चुनौती र वातावरणीय न्यायका पक्षहरूबारे विद्यार्थी तथा शिक्षकहरूलाई जानकारी गराए। वातावरण इन्जिनियर, वातावरण कानून समाज नेपालका सुरज श्रेष्ठले ’नेपालमा वन्यजन्तु अपराध नियन्त्रण र युवाहरूको भूमिका र आगामी बाटो’’ विषयमा प्रस्तुति गर्दै वन्यजन्तु अपराधका कारण, नियन्त्रणका उपाय, संरक्षणमा आधुनिक प्रविधिको प्रयोग तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे चर्चा गरे।

यस अवसरमा लाङ्टाङ सद्भावना दूत र गाउँ पर्यटन सद्भावना दूतसमेत रहनुभएका पत्रकार-लेखक अशोक सिलवालले आफ्नो ’एचटूओ नेपाल बुक जर्नी (हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रा)’का बारेमा प्रस्तुति दिए। सिलवालले आफ्नो यात्रासँग जोडिएका तीन पुस्तक ’एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ’अप्प दीपो भवः’ र ’श्रीलङ्का स्मृति’ अनि तिनका मुख्य सन्देश र वनस्पति उद्यानसँग मानव जीवनको अन्तरसम्बन्ध बारे सहभागीहरूलाई जानकारी गराए।

सिलवालले यी तीन पुस्तक र तीन सन्देशसहित सुरु गरेको एचटूओ नेपाल बुक जर्नीमार्फत हिमालयदेखि महासागरसम्म प्रकृति, संस्कृति, शिक्षा र संरक्षणको सन्देश फैलाउने अभियान सञ्चालन गरिरहेका छन्। उनी देशका विभिन्न जिल्लामा पुग्दै पुस्तकमार्फत ज्ञान, चेतना र सकारात्मक सोचको यात्रा अगाडि बढाइरहेका छन्। विद्यार्थीलाई प्राकृतिक विज्ञान संग्रहालय, वृक्षरोपण तथा उद्यान क्षेत्रको अवलोकन पनि गराइएको थियो, जहाँ उनीहरूले संग्रहालयमा रहेका प्राकृतिक नमुना, वनस्पति तथा जैविक विविधताबारे थप जानकारी लिएका थिए।

कार्यक्रमको एक विशेष आकर्षणका रूपमा ‘लिली लिव्स्’ ललितपुरकी प्रमुख कार्यकारी अधिकृत लिली कटुवालद्वारा नव-निर्मित हरितगृह (ग्रीनहाउस) प्राकृतिक विज्ञान संग्र्रहालयलाई हस्तान्तरण गरिएको थियो। समारोहका क्रममा कटुवालले हरितगृहको साँचो सङ्ग्रहालय प्रमुख डा. ईशान गौतमलाई हस्तान्तरण गर्दै भने, ‘हामी जैविक विविधताको संरक्षण तथा सबै जीवजन्तुले समानरूपमा बाँच्न सक्ने सुन्दर संसारको निर्माणप्रति प्रतिबद्ध छौँ।’ साँचो ग्रहण गर्दै डा. गौतमले आभार व्यक्त गर्दै “यो हरितगृह विद्यार्थीहरू, अनुसन्धाता तथा शैक्षिक गतिविधिका लागि अत्यन्त उपयोगी हुने छ’ भने।

वनस्पति उद्यानलाई शिक्षा, अनुसन्धान र संरक्षणसँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले प्रकृति संरक्षणप्रति नयाँ पुस्तामा जिम्मेवारी र चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। प्राकृतिक विज्ञान संग्रहालयका उपप्राध्यापक विमला श्रेष्ठ तथा डा. प्रभा चित्रकारलगायतका अन्य विज्ञहरूको पनि उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागी टाइम्स इन्टरनेसनल कलेज र गीतामाता माध्यमिक विद्यालयका विद्यार्थीले तथा शिक्षकहरूले विज्ञान, प्रकृति, संस्कृति र समाजलाई जोड्ने यस प्रकारका कार्यक्रमले वातावरण संरक्षणको यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ३० जेठ २०८३ ११:१८ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast