दैनिक ८ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

हिमाल प्रेस २६ जेठ २०८३ १७:५६ | Tuesday, June 9, 2026
14
SHARES
दैनिक ८ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रु १९ खर्ब १६ अर्ब ९० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान म्याक्रोइकोनोमिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले वृद्धि भएको हो।

गत वैशाखमा मात्रै नेपालले रु २५७ अर्ब ४९ करोड रेमिट्यान्स प्राप्त गरेको छ। अघिल्लो वर्षको सोही महिनामा रु १६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको थियो। यस आधारमा वैशाखमा दैनिक औसत रु ८ अर्ब ५० करोडभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १३.३ प्रतिशत मात्र रहेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १०.६ प्रतिशत थियो।

रेमिट्यान्समा आएको उल्लेखनीय वृद्धिले नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाएको छ। यसले चालु खातालाई बचतमा राख्न, शोधनान्तर स्थितिलाई सुदृढ बनाउन तथा वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्सलगायतका स्थानान्तरण समेटिने खुद माध्यमिक आम्दानी (नेट सेकेन्डरी इन्कम) समीक्षा अवधिमा बढेर रु २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी रु १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो।

प्रकाशित: २६ जेठ २०८३ १७:५६ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast