काठमाडौँ- नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। उनीहरू पक्राउ परेसँगै ८०७ वर्ष कैद सजाय कार्यान्वयनमा आएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ३२६ जनालाई पक्राउ गरिएको जानकारी दिए।
यस्तै कोशी प्रदेशबाट ३०५ जना, मधेश प्रदेशबाट ५३९, बागमती प्रदेशबाट ३६०, गण्डकी प्रदेशबाट १३२, लुम्बिनी प्रदेशबाट ३२०, कर्णाली प्रदेशबाट ६३ र सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ परेका हुन्।
उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८०७ वर्ष एक महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको पनि उनले जानकारी दिए।
उनीहरूबाट रु २३ करोड ४४ लाख ४३ हजार ८९१ जरिवाना असुलउपर गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ।
कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ।




