अमेरिकी आक्रमणपछि क्षतिग्रस्त बनेको इरानको एउटा पानी भण्डारण।
काठमाडौँ- इरानले अमेरिकी हवाई आक्रमणका कारण आफ्नो दक्षिणी होर्मोज्गान प्रान्तका करिब २० हजार बासिन्दा खानेपानी सेवाबाट वञ्चित भएको जनाएको छ। हालै दुई देशबीच भएको सैन्य झडपका क्रममा पानी भण्डारणका दुई ठूला जलाशय ध्वस्त भएका थिए।
होर्मुज जलमार्गमाथि इरानले अमेरिकी हेलिकोप्टर खसालेपछि तनाव चर्किएको थियो। त्यसको जवाफमा अमेरिकाले मंगलबार राति दक्षिणी इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको थियो।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना लडाकु विमानहरूले होर्मुज जलमार्ग नजिकका इरानी वायु प्रतिरक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन तथा निगरानी राडार केन्द्रहरूमा निसाना बनाएको जनाएको छ। सेन्टकमले यसलाई अमेरिकी सेना र व्यापारिक जहाजमाथि भएका हालका इरानी आक्रमणको समानुपातिक प्रतिक्रिया भनेको छ।
होर्मोज्गानका अधिकारीहरूका अनुसार बुधबार बिहान भएको अमेरिकी आक्रमणमा दुई हजार पाँच सय घनमिटर क्षमता भएका दुई पानी भण्डारण जलाशय नष्ट भएका छन्। ती जलाशयले कुहेस्ताक सहर र बेमानी जिल्लाका आसपासका १० गाउँका बासिन्दालाई खानेपानी आपूर्ति गर्दै आएका थिए।
सेन्टकमले आफ्ना आक्रमणले ती जलाशयलाई निसाना बनाएको हो वा होइन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
यो झडप अप्रिल ८ मा अमेरिका र इरानबीच भएको नाजुक युद्धविरामपछि देखिएको सबैभन्दा गम्भीर सैन्य तनाव मानिएको छ। यसले युद्धविराम थप लम्ब्याउने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ताको आधार तयार गर्ने कूटनीतिक प्रयासलाई समेत जोखिममा पारेको विश्लेषण गरिएको छ।
४० दिन लामो युद्धका क्रममा अमेरिका र इजरायलले कराजस्थित बी–१ पुल, तेहरानको प्रमुख चिकित्सा अनुसन्धान केन्द्र पास्चर इन्स्टिच्युट तथा केही विश्वविद्यालयसहित विभिन्न नागरिक पूर्वाधारमा क्षति पुर्याएको इरानको आरोप छ।
होर्मोज्गान खानेपानी तथा ढल व्यवस्थापन कम्पनीका प्रमुख अब्दोल्हामिद हम्जेपोरले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै आक्रमणपछि ‘कठोर गर्मी र प्रतिकूल मौसममा बसोबास गर्ने २० हजारभन्दा बढी स्थानीय बासिन्दा सुरक्षित खानेपानीबाट वञ्चित भएको’ बताएका छन्।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सले अमेरिकी आक्रमणको जवाफस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ बेडा र जोर्डनस्थित अमेरिकी हवाई अड्डालाई मिसाइल प्रहार गरेको जनाएको छ।
बुधबारसम्म थप आक्रमणको खबर नआएकाले स्थिति तत्कालका लागि नियन्त्रणमै रहेको देखिएको छ।
इरानी परराष्ट मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिका विरोधाभासी सन्देश र बारम्बार युद्धविराम उल्लंघनमार्फत कूटनीतिक प्रक्रियामा बाधा पुर्याइरहेको आरोप लगाए। उनले लेबनानमा भइरहेका युद्धविराम उल्लंघनमार्फत इजरायलले पनि शान्ति प्रक्रिया कमजोर बनाइरहेको दाबी गरे।
बाघाईले इरानले आफ्नो रक्षा गर्न कुनै हिचकिचाहट नराख्ने चेतावनीसमेत दिएका छन्।
होर्मोज्गानका स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा पानी ट्यांकर परिचालन गर्ने तथा अस्थायी पम्पिङ प्रणाली जडान गर्ने लगायतका आपत्कालीन उपाय लागू गरेको जनाएको छ।
हाल उक्त क्षेत्रमा तापक्रम ४५ देखि ५० डिग्री सेल्सियससम्म पुगेको छ, जसले स्थानीय बासिन्दाको अवस्था थप जटिल बनाएको छ।
खानेपानी कम्पनीका अनुसार जलाशय ध्वस्त भएपछि स्थानीय पानी आपूर्ति प्रणालीमा ठूलो संकट उत्पन्न भएको छ। भूमिगत पानीको स्रोत पर्याप्त नभएकाले तत्काल वैकल्पिक व्यवस्था गर्न कठिन भएको कम्पनीले जनाएको छ।
कम्पनीले पानी पूर्वाधारमा करिब १.४ ट्रिलियन इरानी रियाल (झण्डै ८ लाख अमेरिकी डलर) बराबरको क्षति भएको अनुमान गरेको छ। जलाशय पुनर्निर्माणमा समय लाग्ने भए पनि स्थायी पानी आपूर्ति पुनःस्थापित गर्न सबै स्रोत परिचालन गरिने कम्पनीले जनाएको छ।
यसअघि मार्चमा पनि इरानले केस्म टापुको समुद्री पानी प्रशोधन केन्द्रमा अमेरिकी आक्रमण भएको आरोप लगाएको थियो। उक्त आक्रमणका कारण ३० वटा गाउँको पानी आपूर्ति प्रभावित भएको इरानको दाबी थियो। अमेरिकाले भने आरोप अस्वीकार गरेको थियो।




