उभौलीमा प्रकृतिको पूजा

हिमाल प्रेस १८ वैशाख २०८३ १५:३८ | Friday, May 1, 2026
8
SHARES
उभौलीमा प्रकृतिको पूजा

सुनसरी- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किरात राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरु भएको छ। उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध चाड हो जसलाई ‘साकेला चाड’ पनि भनिन्छ।

विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली एक महिनासम्म मनाइन्छ। उभौली सुरु भएसँगै अहिले हरेक साकेला थानहरूमा विभिन्न लयका गीतहरू गाउँदै ताल मिलाएर नाच्नेहरूको लस्कर देखिन्छ।

आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य स‌ंगीतमा रमाउने युवा पुस्ताहरू अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन्। टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको देखिन्छ।

धरान–१६ नवीन बान्तावा भन्छन्, ‘आजदेखि सुरु भएको किरातीहरूको महान चाड उभौली साकेला अब एक महिनासम्म हामी साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा सजिएर टोलटोलमा गएर नाच्ने गर्छौँ।’

आजबाट सुरु भएको उभौलीलाई ऋतु परिवर्तनको संकेत दिने चाडको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म किरातीहरूले मनाउने उभौली वसन्त ऋतुको समयमा पर्ने गर्दछ। किरात समुदायले धुमधामसँग मनाउने उभौली पृथ्वीमा कृषियुग सुरु भएदेखि नै मनाउँदै आइएको बूढापाकाहरूको भनाइ छ र यस चाडको पहिलो दिन साकेला थानको वरिपरि चण्डी नाच नाच्दै प्रकृतिको आराधना गर्ने गरिन्छ।

पहिलो दिन साकेला थानमा चण्डी नाच नाचिने भएकाले पनि यस पर्वको पहिलो दिनलाई चण्डी पूर्णिमा भनेर पनि चिनिन्छ। धरान–११ का सरस्वती राई भन्छिन्, ‘साकेला किरात जातिको पहिचान हो।’ साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलीका रूपमा विभिन्न गीतहरूको प्रस्तुत गरेर नाच्ने गरिएको उनले सुनाइन। आफ्नो संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर विभिन्न साकेला सिलीहरू भाइबहिनीहरूलाई सिकाएर धरानबाहेक पूर्वका विभिन्न ठाउँहरूमा अबको एक महिनासम्म नाच्न जाने गरेका छौँ’, उनले भनिन्।

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ। छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुंगी र जीव जनावारको हाउभाउ गर्दै नाचिरहेको हुन्छन्।

साकेला सांस्कृतिक रूपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ। हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ। हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए।

साकेला एउटा अद्भूत शक्ति भएको ढुङगाजस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ। प्राकृतिक पूजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच आजबाट सुरु भएको छ। उनले भने, ‘विशेषगरी साकेला हजारौँ किसिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिली जस्मा प्रकृतिलाई पुज्ने घामपानी हावाहुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पत्ति भएका कीरा फट्याङ्ग्रा, चराचुरुङ्गी झिङ्गाहरूकोे नक्कल गरी नाच्ने गरिन्छ।’

प्रतिक्रियात्मक सिली हामीले दैनिक रूपमा गरिने क्रियाकलापहरू बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्नेजस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौँ सिली हुन्छन्। यसमा रहेर साकेला नाच्ने गरिएको अध्यक्ष राईको भनाइ छ। किरात समुदायले यस दिनलाई सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन्। सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको किरात समुदायभित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायतका जातिहरूले यस उभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन्।

उभौली पर्वलाई किरात समुदायका जातिहरूले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ। लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङ जातिले ‘साकेला’ सुनुवारहरूले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरूले ‘तोसी’ लगायतका नामहरूले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ।

बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ। पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिली लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तामणि राईले बताए। पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ। तर पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ।

पहाडी भेगमा रामनवमी सुरु भएसँगै साकेला मनाउन सुरु गरिन्छ। टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ। यो चाडमा किरात राईहरूले पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्ने गरिन्छ किरात राई समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ वर्षमा दुईपटक उधौली र उभौलीमा पितृहरूको पूजा अथवा (माङ) गर्ने चलन छ।

साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ, आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडको रुपमा लिने चलन किरात समुदायमा छ। यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरू मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ। साकेला अथवा उभौली, उधौलीप्रति युवा पुस्ताको चासो बढ्दो देखिन्छ।

उभौली साकेलाको अवसरमा, आजको दिन किराती परम्पराअनुसार भूमि पूजन गर्ने पुरानो चलन रहिआएको यस वैशाख पूर्णिमा मौसम र प्रकृतिसँग सम्बन्ध राख्ने चाडको रुपमा बुझ्न र देख्न सकिन्छ। वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भएपश्चात् चिसो भूभागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाईवस्तु गोठहरू पनि मास्तिर सार्ने थाल्ने चलन अहिले पनि छ। चिसो यामको सुरुवातसँगै वासस्थान तलतिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसम अनुसार तल (उँधो) वा (उँभो) बास्थान सर्ने चलन थोरै नै भए पनि नेपालका केही भागहरूमा अझै पनि यथावत नै रहेको बुढापाखाहरूको भनाइ छ।

तराई वा मधेशतिर गर्मी बढ्दै जाँदा माथिल्ला पहाडी र हिमाली भूभागहरूमा समेत मौसम तात्तिदै जान्छ। यसरी गर्मी बढ्दै जाँदा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जंगली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ। यसै कारणले वैशाख पूर्णिमामा किरात समुदायद्वारा मनाइने यस चाड ‘उँभो’ शब्दबाट प्रेरित भएर ‘उभौली’ को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ।

उभौली धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ। राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुंगा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन्। काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाच्ने गरिन्छ। विशेषगरी काठमाडौँको टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ।

चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली मनाउने प्रचलन छ। किरात जातिहरूको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किरात चाड भनेर घोषणा गरिएको थियो। उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ। सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रूपमा मनाउने गरिएको छ। रासस

प्रकाशित: १८ वैशाख २०८३ १५:३८ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast