काठमाडौँ- म्यानमारस्थित नेपाली राजदूतावासले २५७०औँ बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरेको छ। दूतावासले शुक्रबार दूतावास परिसरमा विशेष धर्मदेशना तथा दान अर्पण कार्यक्रमको आयोजना गरेको हो।
सो अवसरमा राजदूतावासमा रहेको भगवान बुद्धको प्रतिमामा दीप प्रज्वलन र पुष्प अर्पण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हरिशचन्द्र घिमिरेले भगवान बुद्धका शिक्षा र सिद्धान्तहरूको सान्दर्भिकताबारे जानकारी दिएका थिए। उनले प्राचीन कालमा बुद्धले म्यानमारको भ्रमण गरेको र याङ्गुनस्थित प्रसिद्ध श्वेडागन प्यागोडामा सुरक्षित बुद्धको ‘कपालको अवशेष’ले नेपाल र म्यानमारबीचको गहिरो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको बताए।
सो अवसरमा सुतुपान परियत्ती गुम्बाका भन्ते उ कुण्डला लगायतका धर्मगुरुहरूले बुद्धको जीवनी र दर्शनबारे प्रवचन दिएका थिए। कार्यक्रममा म्यानमारका विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधि र नेपाली समुदायको उपस्थिति थियो।




