काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले लोकतन्त्र भन्दा पनि बालेनतन्त्र विकास गर्न खोजिरहेको आरोप लगाएको छ। आज प्रतिनिधिसभा बैठकमार्फत एमाले प्रमुख सचेतक ऐन महरले सदनबाट जबाफ नदिएर बालेनले लोकतन्त्रको खिल्ली उडाएको उनले बताएका हुन्।
सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ रु भनेर सभामुखमार्फत उनले प्रश्न गरेका छन् ।
उनले नेपालको संविधानको धारा ७४ ले नेपालको शासकीय स्वरूपका बारेमा व्यवस्था गरेको भन्दै त्यसमा बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था हुने उल्लेख रहेको बताए ।
उनले बजारमा प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र भन्दा पनि बालेनतन्त्र विकास गर्न खोजेको हो कि भनेर चर्चा चलेको बताए । साथै उनले प्रधानमन्त्री शाहले पटक पटक संसद्को उपेक्षा गरेको तथा हुर्मत लिने काम भएकोप्रति गम्भीर चासो र चिन्ता रहेको बताए ।
‘यो सरकार संसद्प्रति उत्तरदायी र जबाफदेही बन्नुपर्छ । त्यो बन्ने बेला भनेको नीति तथा कार्यक्रममा हो । जनताका प्रश्न सरकारले सुन्नुपर्छ । हामी यहाँ प्रधानमन्त्रीको अनुहार हेर्न होइन, कानुनसम्मत माग गरेका छौँ’, महरले नियमावली भन्दा पनि कुरा नियतको भएको बताए ।




