प्रतीकात्मक तस्बिर।
काठमाडौँ- रौतहट र सिन्धुलीको सिमानामास्थित बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–९ बस्तिपुर बस्ने १८ वर्षीय रोहित महतो र सोही नगरपालिका–६ का २० वर्षीय गणेश महतो रहेको प्रहरीले जनाएको हो।
दुवै जनाको शव बागमती नगरपालिका–११ बागमती पुलभन्दा उत्तर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले जनाएअनुसार उनीहरू शनिबार पाँच जना साथीसहित झपसी झोलुङ्गे पुल घुम्न गएका थिए। नदी तर्ने क्रममा रोहित र गणेश पानीमा डुबेर वेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त भएसँगै उद्धारका लागि इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट १२ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो।
रोहित र गणेशसँगै घुम्न गएका सर्लाही बरहथवा–५ बस्ने सहमद मोमिन, सोही ठाउँका २४ वर्षीय मोहम्मद अखतर र सर्लाही ब्रह्मपुरी ३ का २० वर्षीय श्याम भण्डारी सकुशल रहेको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ।




