बस्ती खाली गर्दा तीन विद्यालय भत्किए

हिमाल प्रेस २३ वैशाख २०८३ १५:१९ | Wednesday, May 6, 2026
10
SHARES
बस्ती खाली गर्दा तीन विद्यालय भत्किए

काठमाडौँ- काठमाडौँ उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुम्बासी बस्ती हटाउने क्रममा भत्काइएका तीन सामुदायिक विद्यालयका विद्यार्थीले नजिकैको विद्यालयमा पढ्न थालेका छन्।

बस्ती खाली गर्ने क्रममा भत्काइएको काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयका छात्रछात्रालाई नजिकैको सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएको छ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत नेत्रप्रसाद पौडेलले दुवै विद्यालयमा विद्यार्थी, शिक्षक र सम्पत्ति व्यवस्थापन हुने बताए।

बुद्धज्योतिलाई नजिकैको कामनापा-१६ कै तरुण माध्यमिक विद्यालयमा र बालकल्याणलाई कामनपा १७ को नेपाल युवक मावि, पकनाजोलमा स्थानान्तरण गरिएको छ।

बालकल्याणमा पनि १२० जना विद्यार्थी थिए। बुद्धज्योतिमा रहेका प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्ममा १२० विद्यार्थीमध्ये ४५ जना तरुण माविमा भर्ना भइसकेका उक्त माविका प्रधानाध्यापक बाबुराम न्यौपानेले जानकारी दिए।

बुद्धज्योतिका ११ जना शिक्षक पनि तरुण माविमा स्थानान्तरण भएका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरणको पत्र दिएसँगै आफूहरु तरुण माविमा हाजिर भई काम गर्न थालेको बुद्धज्योतिका तत्कालीन प्रधानाध्यापक सन्तराम श्रेष्ठले बताए।

आफूहरूले त्यहाँका विद्यार्थी र अभिभावकसँग सम्पर्क गरेर तरुण माविमा आउन चाहने सबैलाई त्यहाँ भर्ना हुन भनिरहेको श्रेष्ठले जनाए। बुद्धज्योतिका विद्यालय व्यवस्थापन समितिका सदस्य अष्टमाया लामाले ‘हाम्रो विद्यालयको सबै सामान र बच्चाहरु को कता भन्ने स्पष्ट भइसकेको छैन। सम्भव हुने जतिलाई तरुण माविमा जान भनेका छौँ, उनले भने।

काठमाडौँ महानगरपालिकाले बस्ती खाली गर्ने क्रममा विस्थापित भएका बालबालिकालाई सामुदायिक विद्यालयका साथै निजी तथा आवासीय विद्यालयमा पनि निःशुल्क भनाए गराउन पहल गरेको छ।

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगाेलको आग्रहपछि निजी शिक्षालय सञ्चालकका संस्थाहरुले नेपाल सरकारद्वारा काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा मुलुकका विभिन्न जोखिमयुक्त स्थानमा रहेका सुकुमवासी बस्ती खाली गराउँदा प्रभावित भएका समुदायका बालबालिकाको पढाइमा आफूहरुले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुमवासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आफूहरु तत्पर रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेश (प्याब्सन) का महासचिव आरबी कटवालले बताए।

सरस्वती आधारभूत विद्यालय सामुदायिक भवनमा

संरचना हटाउने क्रममै भत्किएको भक्तपुरको मनोहरा खोला नजिकको सरस्वती आधारभूत विद्यालय, हाललाई मध्यपुरथिमी नगरपालिकाका वडा नम्बर १ कार्यालय, अगाडिको सामुदायिक भवन, लोकन्थलीबाट सञ्चालन गर्न थालिएको वडाध्यक्ष बाबुकाजी डंगाेलले जानकारी दिए।

नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ कानुन अधिकृत केशव सिलवालले नगरप्रमुख सुरेन्द्र श्रेष्ठस्तरीय निर्णयबाट हाललाई सरस्वती माविलाई अर्को भवनबाट सञ्चालन गराइएको र त्यहाँ आवश्यक अस्थायी प्रबन्ध गरिने बताए। सो विद्यालयमा पनि १२० विद्यार्थी थिए।

बाल अधिकारकर्मी तिलोत्तम पौडेलले प्रभावित क्षेत्रमा बालबालिकालाई नजिकैको निजी विद्यालयमा निःशुल्क भर्ना गर्ने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने, मनोवैज्ञानिक सहयोगको उपयुक्त व्यवस्था र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला एक भएर अघि बढ्न आग्रह गरे।

प्रकाशित: २३ वैशाख २०८३ १५:१९ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast