स्रष्टाको सम्मानमा राज्यले कन्जुस्याइँ गर्न हुँदैन : राष्ट्रपति पौडेल

हिमाल प्रेस २५ वैशाख २०८३ १२:०० | Friday, May 8, 2026
22
SHARES
स्रष्टाको सम्मानमा राज्यले कन्जुस्याइँ गर्न हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन्। नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत रहेकाे बताए। कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो।

राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए। उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकता बलियो बनाउने आधार हो।’

उनले नेपाली संगीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताए।

राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुने भन्दै सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताए। उनले भने, ‘त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ।’

उनले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए। पौडेलले भने, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ। विशेषत उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ।’

प्रकाशित: २५ वैशाख २०८३ १२:०० | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast