बुटवल- काठमाडौँमा सुकुम्वासी वस्तीमा डोजर चलाएपछि त्रसित रुपन्देही बुटवलका भूमिहीन अव्यवस्थित बसोबासीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुकुम्वासी वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुटवल-१७, रानीगञ्जमा विरोध प्रदर्शन गरिएको हो।
डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासी व्यवस्थापन गर भन्दै विभिन्न प्लेकार्ड सहित सडकमा उत्रिएर उनीहरूले सरकारविरुद्ध नाराबाजी गरे। बुटवल वडा १७ र १८ मा मोतीपुर औद्योगिक क्षेत्रका नाममा वस्ती समेत समावेश गरी औद्योगिक क्षेत्रका नाममा लालपूर्जा बनेकाले यहाँका बासिन्दा त्रसित बनेका हुन्।
वैशाख १४ गते बालाजु औद्योगिक क्षेत्रले आफ्नो जग्गा क्षेत्रमा बसोबास गरेकाहरूलाई हटाउने खालको सूचना सार्वजनिक गरेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। २७ सालदेखि र अधिकांश २०५७ सालदेखि बसोबास गर्दै आएको क्षेत्रमा २०७३ सालमा आफूहरूलाई थाहै नदिई औद्योगिक क्षेत्रका नाममा लालपूर्जा दिएकोमा आपत्ति जनाउँदै वस्ती नहटाउन माग गरेका हुन्।

वस्ती बचाउ संरक्षण समिति संयोजक छवि रास्कोटीले आफूहरूले युवा प्रधानमन्त्री बालेन शाहसँग धेरै अपेक्षा गरेको भए पनि अहिले आफूहरूकै जस्तो सुकुम्वासीहरूको वस्तीमा डोजर लगाएर निरंकुश काम गरेको बताए।
प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक रास्कोटीले आफूहरूले सार्वजनिक ठाउँ हडपेर नबसेको बताउँदै सुख शान्तिसँग बस्न वातावरण मिलाउन आग्रह गरे। समितिका तर्फबाट बुटवल उपमहानगरपालिकालाई आफूहरूको मागको सुनुवाइ नगरी वस्ती नहटाउन माग गर्दै नगरप्रमुख खेलराज पाण्डेयलाई ज्ञापनपत्र बुझाएका छन्। उनले ज्ञापनपत्र बुझ्दै औद्योगिक क्षेत्र बन्दा वस्ती जोगाएर मात्रै बनाउने गरी समझदारी गरेको बताए। उनले वस्तीलाई असर नगर्ने गरी काम गर्ने गरी स्थानीय जनप्रतिनिधिका रूपमा काम गरेको बताए। रानीगञ्ज मोतिपुर क्षेत्रमा मात्रै ३ हजार घरधुरी प्रभावित हुने अनुमान छ।

रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी समेत गरी करिब ८० हजार परिवार छन्। सकुम्वासी अव्यवस्थित बसोबासीहरूले रानीगञ्जमा गरेको प्रदर्शनमा हजारौँ सहभागी थिए। मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने वस्ती संरक्षण समिति सल्लाहकार टंकप्रसाद न्यौपानेले बताए।



