होल्डिङ सेन्टरका सुकुमवासीले पाए झुल

हिमाल प्रेस ३० वैशाख २०८३ ७:४५ | Wednesday, May 13, 2026
16
SHARES
होल्डिङ सेन्टरका सुकुमवासीले पाए झुल

बाँके- कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ। अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित भएका परिवारलाई हाल नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ बसोबास गरिरहेका परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट जोगाउन नगरपालिकाले झुल वितरण गरेको हो।

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लामखुट्टेको समस्याबाट बढी प्रभावित भएकाले तत्काल राहतस्वरूप झुल वितरण गरिएको बताए।

उनकाअनुसार मङ्गलबार मात्रै ६९ परिवारलाई झुल वितरण गरिएको छ। नगरपालिकाले वडा नम्बर २ देखि १४ सम्म विभिन्न स्थानमा १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। ती केन्द्रहरूमा अस्थायी आवास, खानेपानी तथा शौचालयको व्यवस्थासमेत गरिएको नगरपालिकाको भनाइ छ।

कोहलपुर नगरपालिकाले विस्थापित परिवारको व्यवस्थापनसँगै वास्तविक भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलनको काम अघि बढाएको जनाएको छ। नगरप्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गरिने बताए। उनले भने, ‘वास्तविक भूमिहीन र सुकुमवासी नागरिकलाई व्यवस्थित रूपमा बसोबासको वातावरण मिलाइने छ। सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीतिअनुसार नगरपालिका अघि बढिरहेको छ।’

नगरपालिकाका अनुसार क्रिकेट मैदान आसपासको क्षेत्र खाली गराइएपछि अधिकांश परिवार हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् भने केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन्। उक्त क्षेत्रमा रहेका १४८ घरटहरा शनिबार र आइतबार नगरपालिकाले डोजर प्रयोग गरी हटाएको थियो।

प्रकाशित: ३० वैशाख २०८३ ७:४५ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast