साकिरालाई पाँच करोड ५० लाख युरो फिर्ता गर्न आदेश

हिमाल प्रेस ५ जेठ २०८३ १४:०६ | Tuesday, May 19, 2026
14
SHARES
साकिरालाई पाँच करोड ५० लाख युरो फिर्ता गर्न आदेश

काठमाडौँ- पपगायिका साकिरासँग सम्बन्धित कर विवादमा स्पेनको एक अदालतले उनलाई पाँच करोड ५० लाख युरो (चार करोड ८० लाख पाउन्ड ६ करोड ४० लाख डलर) फिर्ता गर्न आदेश दिएको छ। अदालतले उक्त रकम अनुचित रूपमा असुल गरिएको ठहर गरेको हो।

स्पेनको राष्ट्रिय उच्च अदालतले कोलम्बियाली गायिका साकिरालाई कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न कोषागारलाई आदेश दिएको हो। अदालतले कर निकायले सन् २०११ मा साकिराले स्पेनमा १८३ दिन बिताएको प्रमाणित गर्न नसकेको जनाएको छ। स्पेनमा व्यक्तिगत आयकर तिर्न त्यति समय बसोबास गरेको हुनुपर्ने कानुनी प्रावधान छ।

साकिराले अदालतको निर्णयले अन्ततः सत्यलाई स्थापित गरेको बताएकी छन्। उनले आफूले आठ वर्षसम्म सार्वजनिक रूपमा निर्ममतापूर्वक निसाना बनाइनु, आफ्नो प्रतिष्ठा ध्वस्त पार्ने योजनाबद्ध अभियान र त्यसबाट स्वास्थ्य तथा परिवारको हितमा परेको असर सहनुपरेको बताइन्। फिर्ता गरिने रकममा दुई करोड ४० लाख युरो आयकर र दुई करोड ५० लाख युरो जरिवाना समावेश छन्। कर अधिकारीहरूले यसलाई अत्यन्त गम्भीर उल्लंघन भनेका थिए।

स्पेनको कर निकायले भने सर्वोच्च अदालतमा पुनरावेदन गर्ने र अन्तिम फैसला नआएसम्म कुनै भुक्तानी नगर्ने जनाएको छ। ४९ वर्षीया साकिरा पूर्व स्पेनी फुटबलर जेरार्ड पिकेसँग एक दशकभन्दा बढी समय सम्बन्धमा रहेकी थिइन्। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको आधिकारिक गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ को म्युजिक भिडियो छायांकनका क्रममा उनीहरू भेट भएको बताइन्छ।

उच्च अदालतले जरिबाना गैरकानुनी भएको उल्लेख गर्दै सन् २०११ मा शकिरा स्पेनको करदाता आवासीय हैसियतमा थिइन् भन्ने आधार प्रमाणित नभएको बताएको छ। अदालतका अनुसार उक्त आर्थिक वर्षमा साकिराले स्पेनमा १६३ दिन मात्र बिताएकी थिइन्, जुन कर प्रयोजनका लागि आवासीय मानिन आवश्यक १८३ दिनभन्दा २० दिन कम हो।

यो मुद्दा सन् २०११ पछिका कर वर्षसँग सम्बन्धित छैन। साकिराविरुद्ध स्पेनको कर निकायले दायर गरेका धेरै मुद्दामध्ये यो पनि एक हो। उनी ‘हिप्स डोन्ट लाइ’ र ‘वेयरेभर, वेनेभर’ जस्ता चर्चित गीतका लागि परिचित छन्।

सन् २०२३ मा उनले २०१२ देखि २०१४ सम्मको अर्को कर छली मुद्दामा स्पेनी अभियोजन पक्षसँग सम्झौता गरेकी थिइन्। मुद्दा सुनुवाइ सुरु हुनुअघि भएको उक्त सम्झौताअनुसार उनले आफूमाथिका छ वटा आरोप स्वीकार गर्दै ७५ लाख युरो जरिवाना तिरेकी थिइन्। यद्यपि साकिराले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आफ्ना बालबालिकाको हितलाई ध्यानमा राखेर मुद्दा मिलाएको बताएकी थिइन्। अभियोजन पक्षले दोषी ठहर भए उनलाई आठ वर्ष जेल सजाय र दुई करोड ३८ लाख युरो जरिवाना माग गरेको थियो।

त्यसपछि सन् २०२४ मा स्पेनको अर्को अदालतले पर्याप्त प्रमाणको अभाव भन्दै सन् २०१८ को उनको कर भुक्तानीसम्बन्धी अनुसन्धान पनि खारेज गरेको थियो। यो पछिल्लो फैसला त्यतिबेला आएको हो, जति बेला सकिरा आफ्नो ‘विमेन डोन्ट क्राइ एनीमोर’ विश्व भ्रमणअन्तर्गत सेप्टेम्बरदेखि म्याड्रिडमा विशेष प्रस्तुति दिने तयारीमा थिइन्।

गत साता सार्वजनिक कार्यक्रमअनुसार उनले यस गर्मीयामको फिफा पुरुष विश्वकप फाइनलको हाफटाइम सोमा म्याडोना र बीटीएससँगै प्रस्तुति दिनेछिन्। यसै महिनाको प्रारम्भमा ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना समुद्रकिनारमा आयोजित शकिराको निःशुल्क कन्सर्टमा २० लाख मानिस सहभागी भएका थिए।

प्रकाशित: ५ जेठ २०८३ १४:०६ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast