आर्थिक अनियमिततालगायत आरोपमा रास्वपा बारा सभापति स्वर्णकार पार्टीबाट निष्कासित

हिमाल प्रेस ८ जेठ २०८३ ८:२६ | Friday, May 22, 2026
10
SHARES
आर्थिक अनियमिततालगायत आरोपमा रास्वपा बारा सभापति स्वर्णकार पार्टीबाट निष्कासित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज गरिएको छ। केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले उनलाई पत्र पठाउँदै सदस्यता खारेज भएको जानकारी दिएका हुन्।

अनुशासन आयोगमा बारा जिल्लाबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध आर्थिक अनियमितता, पार्टी संगठन प्रभावकारी रूपमा सञ्चालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायतका आरोपसहित उजुरी दिएका थिए।

उजुरीपछि गरिएको कारबाहीअनुसार उनलाई पार्टीबाट निष्कासन गरिएको र रास्वपाले जनाएको छ। पार्टी नेताहरूका अनुसार बारा जिल्ला समिति समेत भंग गरी नयाँ समिति गठनका लागि केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ।

यसैबीच, पार्टीबाट निष्कासित भएका स्वर्णकारले भने आफूलाई अन्यायपूर्ण रूपमा कारबाही गरिएको दाबी गरेका छन्। उनले आफ्नो फेसबुकमा पत्र सार्वजनिक गर्दै यसलाई राजनीतिक हत्याको संज्ञा दिएका छन्।

स्वर्णकारले लेखेका छन्, ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा छ।’ उनले कारबाहीलाई षड्यन्त्रको परिणाम भन्दै कुनै निष्पक्ष छानबिन बिना निर्णय गरिएको आरोप पनि लगाएका छन्।

उनका अनुसार जेठ ९ गते हुने भनिएको बाराको विस्तारित बैठक र अधिवेशनअघि आफूलाई साधारण सदस्य समेत नरहने गरी हटाइएको हो, जुन निर्णय सांसदहरूको दबाबमा गरिएको उनले दाबी गरेका छन्।

स्वर्णकारले आफ्नो राजनीतिक यात्रा नरोकिने बताउँदै अब रास्वपाको लोगोबिना स्वतन्त्र रूपमा जनसेवामा सक्रिय रहने बताएका छन्। उनले भनेका छन्, ‘रास्वपाको यो निर्णयले मेरो यात्रा रोकिँदैन, बरु म अझ बलियो रूपमा जनताको सेवामा अघि बढ्नेछु।’

प्रकाशित: ८ जेठ २०८३ ८:२६ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast