सुर्खेत- सुर्खेतका धार्मिक अगुवाहरूले लैंगिक समानता र लैंगिक हिंसा रोकथामका लागि सामाजिक मूल्य मान्यताहरूको रूपान्तरण आवश्यक रहेको औँल्याएका छन्। उनीहरूले कुनै पनि धर्ममा लैंगिक भेदभाव गर्न नहुने, हिंसा गर्नु नहुने उल्लेख भए पनि वर्तमान समयमा त्यो भइरहेका हुँदा ती रूपान्तरण गरी समानता कायम गराउनुपर्ने पनि जोड दिए।
महिला मानवअधिकार, आवाज र अपांग महिला समाजको आयोजनामा सुर्खेतमा भएको धार्मिक गुरुहरूसँग हानिकारक परम्परा तथा बालविवाहसम्बन्धी कार्यक्रममा अगुवाहरूले हानिकारक प्रथालाई रुपान्तरण गर्दै ल्याउनुपर्नेमा सुझाव दिएका छन्।
हानिकारक प्रथाले नै विभेद, हिंसा बढाएको उल्लेख गर्दै उनीहरूले अब सामाजिक मूल्य मान्यतालाई युग र परिवेश सुहाउँदो बनाउनुपर्ने बताए। साथै बालविवाह गरेमा धर्म कमाइन्छ भन्ने जस्ता कुरीतिले गर्दा विगतमा बालबिबाह बढेको हुँदा अब त्यस्ता कुरीतिहरू पनि हटाउनुपर्ने उनीहरूको भनाइ छ। हानिकारक प्रथाले नै अहिले विकृति ल्याएको र त्यसको परिणाम सबैले भोग्नुपरेको धार्मिक अगुवाहरुले औंल्याए।
आवाजका सिनियर कार्यक्रम व्यवस्थापक चेतन गिरीले बालविवाह जस्ता कुप्रथा अन्त्यका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। उनले धार्मिक गुरुहरू समाजलाई सही दिशामा निर्देश गर्ने बौद्धिक व्यक्तिहरू भएको चर्चा गर्दै सामाजिक मूल्य मान्यतालाई रूपान्तरण गर्न सहयोग गर्न सक्ने जनाएका छन्। हानिकारक मूल्य मान्यतालाई परिस्कृत गराउन पनि धार्मिक अगुवाहरूको भूमिका महत्त्वपूर्ण हुने उनको कार्यपत्रमा उल्लेख छ।
यस्तै बालबिवाह पनि बहुसमस्याको जड भएको हुँदा त्यसको पनि अन्त्य गर्न आवश्यक रहेको छ। उनले कर्णाली प्रदेशमा २१ प्रतिशत बालिका १९ वर्ष नपुग्दै आमा बन्ने गरेको तथ्यांक रहेको उल्लेख गर्दै जसले सवैलाई चिन्तामा पुर्याएको जानकारी दिए। उनका अनुसार कर्णालीमा १९ वर्ष मुनिका गर्भवतीको संख्या सबैभन्दा बढी जाजरकोटमा ३८.५३ प्रतिशत छ।
कार्यक्रममा हिन्दु धर्मका गुरु, कृश्चचियन धर्म गुरु, देउती बज्यैका पुजारी, चौधरीका गुरु, मुस्लिम समुदायका गुरु लगायतले समाजमा हुने विकृतिप्रति आफूहरू चेतनशील रहेको बताएका छन्। उनीहरूले आफ्नो धर्ममा बालबालिकामा हुने हिंसाको विरोध गर्नुका साथै विवाहलाई रोक्ने कामहरू पनि गर्दै आएको बताएका छन्। समाजमा फैलाउने विकृत्तिको पछि नलाग्न समेत आग्रह गरेका हुन्।



