प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

हिमाल प्रेस १३ जेठ २०८३ १३:२४ | Wednesday, May 27, 2026
4
SHARES
प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ- पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री वालेन्द्र शाह संसद्‌मा नियमित रूपमा उपस्थित भई देशको समसामयिक अवस्था, नीति तथा कार्यक्रमबारे सम्बोधन गर्नुपर्नेमा बताएका छन्।

नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधानसभाको बुधबार उद्घाटन समारोहमा बोल्दै उनले लोकतान्त्रिक प्रणालीमा जननिर्वाचित सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए। उनका अनुसार प्रधानमन्त्रीले नियमित रूपमा उपस्थित भएर जनताको प्रश्नको जवाफ दिनु लोकतन्त्रको आधारभूत अभ्यास हो।

यादवले हालसम्म प्रधानमन्त्रीले संसद्‌मा प्रभावकारी रूपमा सम्बोधन नगरेको र राष्ट्रका नाममा समेत स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै ध्यानाकर्षण गराए।

उनले गणतन्त्र दिवसजस्ता महत्त्वपूर्ण अवसरमा समेत सरकारले जनताको अपेक्षा, देशको कूटनीतिक प्राथमिकता र विकास योजनाबारे सन्देश दिनुपर्ने आवश्यकता औंल्याए।

पूर्वराष्ट्रपति यादवले भने,‘दुई महिना भइसकेकोले प्रमले संसद्‌मा बोल्नुपर्थ्यो। गणतन्त्र दिवसमा त झनै बोल्नुपर्थ्यो, भारतको लालकिलाजस्तै टुँडिखेलबाट जनताप्रतिको धारणा, छिमेकी राष्ट्रहरूसँगको कूटनीति, जनताको हितसम्बन्धीकार्यक्रमबारे उहाँले बोल्नु पर्दथ्यो। प्रम भएयता उहाँले राष्ट्रको नाममा सम्बोधन गर्नु भएको छैन, संसद्‌मा बोल्नु भएको छैन।’

पूर्वराष्ट्रपति यादवले संसदीय व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लोकतन्त्रका तीन प्रमुख स्तम्भ भएको बताउँदै यी निकायबीच समन्वय कमजोर भए प्रणाली जुनसुकै बेला संकटमा पर्न सक्ने चेतावनी पनि दिए।

यादवले जेनजी पुस्ताले वर्तमान व्यवस्थालाई अस्वीकार नगरेको तर सरकारले जनभावना अनुसार काम गर्न नसक्दा असन्तुष्ट देखिएको टिप्पणी गरे। गत भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast