प्रधानको ‘कृषि विकासका योजना’ पुस्तक प्रकाशित

हिमाल प्रेस १४ जेठ २०८३ १३:०४ | Thursday, May 28, 2026
10
SHARES
प्रधानको ‘कृषि विकासका योजना’ पुस्तक प्रकाशित

काठमाडौँ- पहिलो पुस्ताका वागवानीविद् ९० वर्षीय शिवबहादुर नेपाली प्रधानको ‘प्लानिङ फर एग्रिकल्चर डेभलपमेन्ट’ अर्थात् कृषि विकासका लागि योजना पुस्तक प्रकाशित भएको छ।

‘पारिवारिक खेती भन्नाले त्यस्तो कृषि प्रणाली हो जसको व्यवस्थापन गर्न मुख्यतः परिवारका सदस्यहरू नै श्रमिकका रूपमा खटिएका हुन्छन्’, प्रधान भन्छन्, ‘हामीले धेरै पहिलादेखि पारिवारिक खेती वर्ष मनाइरहे पनि यसको मूल तत्वलाई बिर्सेको सन्दर्भमा पुरानो दस्तावेजलाई पुस्तकका रूपमा प्रस्तुत गर्दा उपयोगी होला भन्ने लागेको छ।’ प्रधानले आफूले सन् १९८१ मा बेलायतको रिडिङ विश्वविद्यालयमा छँदा गरेको अध्ययनलाई पुस्तकको रूप दिएको बताए।

उक्त अध्ययन ‘पहाडी क्षेत्रमा कृषि उत्पादनको प्रबलीकरण : पारिवारिक दृष्टिकोण’ शीर्षकमा केन्द्रित थियो, जसले विशेष गरी नेपालका पहाडी भेगका साना किसानको समस्या र दुई वयस्क तथा दुईतीन जना नाबालक भएको एउटा सामान्य परिवारको जीवनस्तर सुधार गर्ने चुनौतीहरूमा आधारित थियो। ‘सन् २०१४ मा संयुक्त राष्ट्रसंघले अघि सारेको पारिवारिक खेतीको परिभाषा र मैले सन् १९८१ मा परिकल्पना गरेको ‘घरेलु प्रणाली’ ठ्याक्कै एकै छन्,’ उनी भन्छन्।

पुस्तकमा सीमित स्रोत र साधन भएर पनि पहाडी क्षेत्रको निर्वाहमुखी अर्थतन्त्रलाई सुधार्न सुझाइएको उपायमा स्थानीय स्रोतको अधिकतम उपयोग गर्न सिँचाइमा सुधार, गरा सुधार, उन्नत बीउ, कम्पोस्ट मलको प्रयोग र उन्नत पशुपालनमार्फत उत्पादन बढाउन सकिने तथा खानेपानीको व्यवस्था र पशुहरूलाई गोठमै बाँधेर पाल्ने चलनले घरायसी श्रमको बचत भई श्रम उत्पादकत्व बढ्ने देखिन्छ। साथै गैरकृषि रोजगारीले थप आम्दानी दिने पनि पुस्तकमा सुझाइएको छ।

पहाडी कृषि र पारिवारिक खेतीको विकासका लागि दीर्घकालीन योजना, जनशक्तिमा लगानी र उत्पादित वस्तुको सुनिश्चित बजार व्यवस्थापन अपरिहार्य रहेको प्रधानको निचोड छ।

कृषिविज्ञ प्रधानको यसअघि ‘कृषिमा मेरो बाटो’ आत्मसंस्करण र ‘नेपाल कन्सियस सोसल अर्डर’ नामक कृति पनि प्रकाशित छ, जसमा विकासमा समस्या र सम्भावित उपाय सुझाइएको छ। उनको ‘५ः२५’ शीर्षकको संस्मरण पनि प्रकाशित भएको छ, जसमा उनले उनको श्रीमती गौरी रानी प्रधानसँगको संस्मरण उतारेका छन् ।

प्रकाशित: १४ जेठ २०८३ १३:०४ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast