कञ्चनपुर- चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न थालिएसँगै सेवाग्राहीलाई सहज भएको छ ।
हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टले विगतमा चिठीपत्र आदानप्रदानमा सीमित बनेको हुलाक कार्यालयले आगामी दिनमा राहदानी, सवारीचालक अनुमतिपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र विश्वविद्यालयका प्रमाणपत्रसहितका कागजात सेवाग्राहीको घरमै पु¥याउने गरी तयारी थालिएको बताए।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी घरमै पु¥याउने गरी सेवा प्रारम्भ गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयसँग भएको सहमतिपछि ५५ रुपियाँको टिकट काटेपछि सेवाग्राहीले घरमा राहदानी पाउने उनले बताए। जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा मङ्गलबार, बुधबार र बिहीबार २५ जनाभन्दा बढीले घरमै राहदानी लिन हुलाक टिकट काटेको उनले बताए।
राहदानी तयार भएको साता दिनभित्र सेवाग्राहीको घरमै पु¥याइने हुलाक कार्यालयका सूचना अधिकारी भट्टले बताउनुभयो । प्रशासनबाट नागरिकता र राष्ट्रिय परिचयपत्र पनि प्रेषण गर्न सकिने छ । यसै गरी यातायात व्यवस्था कार्यालय, कञ्चनपुरबाट तयार भएका सवारीचालक अनुमतिपत्र सेवाग्राहीको घरमा पु¥याउने तयारी अगाडि बढाइएको हुलाक कार्यालयले जनाएको छ । साथै सुदूरपश्चिम विश्वविद्यालयसँग भएको छलफलमा विद्यार्थीका विभिन्न शैक्षिक प्रमाणपत्रसमेत हुलाकमार्फत घरमै पु¥याउने गरेर काम अगाडि बढाउने सहमति भएको सूचना अधिकारी भट्टले बताए ।
उनले जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो तीन महिनामा २२ हजार ६८७ हुलाक वस्तु आयात तथा निर्यात गरिएको जानकारी दिए।
सूचना अधिकारी भट्टका अनुसार गत आर्थिक वर्षको माघ, फागुन र चैत महिनामा आठ हजार ८८६ (डाँक बाट) रजिस्ट्री चिठी, सात हजार ७१४ रजिस्ट्री चिठी (दर्ता), तीन हजार ५२७ समाचार पत्रपत्रिका आयात र निर्यात गरिएका छन् ।
जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा दु्रत चिठीपत्र, पुलिन्दा दर्ता, वैदेशिक पार्सल, बुक पोस्ट (रजिस्ट्री) र रजिस्ट्री चिठी आयात तथा निर्यात सङ्ख्या बढ्दो क्रममा रहेको छ ।



