आज मे २९ विभिन्न कार्यक्रम समारोह, कन्फरेन्सलगायको कार्य गरेर सगरमाथा दिवस मनाइन्छ। यस अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरवपूर्ण इतिहाससँगै महिला पर्वतारोहीहरूको साहस, संघर्ष र योगदानलाई विशेष रूपमा स्मरण गर्नुपर्छ। हिउँ, चिसो हावा, चट्टानयुक्त बाटो, अक्सिजनको कमी र जोखिमपूर्ण यात्राबीच पनि महिलाहरूले दृढ आत्मविश्वास र सहनशीलताका साथ हिमाल आरोहणमा उल्लेखनीय सफलता हासिल तथा योगदान गरेका छन्।
विश्वसामु पासाङ ल्हामु शेर्पाजस्ता प्रेरणादायी व्यक्तित्वहरूले महिला पनि सर्वोच्च शिखरसम्म पुग्न सक्षम छन् भन्ने ऐतिहासिक प्रमाण स्थापित गरेका छन्। सगरमाथा दिवसले हामीलाई केवल शिखरको उचाइ मात्र होइन महिलाको समान क्षमता, परिश्रम र उपलब्धिलाई सम्मान गर्न र भविष्यका महिला पर्वतारोही तथा पर्वतीय पर्यटन तथा साहसिक पर्यटनलाई अझ अगाडि बढ्न र प्रेरित गर्न स्मरण योग्य बनाउनुपर्छ।
हिमालको फेदीमा उभिँदा वा परैबाट हिमाल देख्दा मात्रै पनि मानिसले आफूलाई प्रकृतिसँग सबैभन्दा नजिक अनुभव गर्छ। वा! वाउ! आहा! आम्मै! ओहो! हैट! आम्मामा ! वा कुनै शब्दै नफुरी मानिस एक तमासले हिमाल हेरिरहेका हुन्छन्। के भएर हुन्छ होला त्यस्तो? हिमालको विशालता, सुन्दरता र भव्यताले हाम्रो दिमागमा आश्चर्य र सम्मानको भावना उत्पन्न गर्न सक्छ। दुर्लभ र मनमोहक दृश्य भएकाले हामी अनायासै टक्क अडिएर लामो समयसम्म हेर्छौं, भुल्छौँ, लडिबुडी गर्छौँ, नाच्छौँ, टिकटक बनाउँछौँ, फोटो खिच्छौँ।
नेपालमा हाराहारी बीस हजारभन्दा बढी ट्रेकिङ गाइड, चार हजारभन्दा बढी ट्रेकिङ एजेन्सी तथा दुई सयभन्दा बढी एक्सपिडिसन कम्पनी छन्। महिलाहरू पनि यस क्षेत्रमा उल्लेख्य मात्रामा लागिरहेको आँकडा देख्न सकिन्छ। सोलो महिला ट्राभलर, सोलो ट्रेकर्स, साइक्लिस्ट, अल्ट्रा म्याराथोन, ट्रेल रनिङ, क्लाइम्बिङ, स्किइङ, क्यानोनिङलगायत विभिन्न साहसिक तथा पर्वतीय गतिविधिमा उल्लेख्य मात्रामा महिला सहभागिता हुनु नेपालको पर्वतीय पर्यटन तथा साहसिक पर्यटन क्षेत्रका लागि एउटा सुनौलो बिहानी हो।
सगरमाथाको सपना बोकेर उकालो चढिरहेका पाइला होस् वा ट्रेकिङमा जाँदा हिमाली हावासँग संघर्ष गरिरहेको शरीर, गन्तव्यमा पुग्ने अदम्य चाहना यी सबै साहसिक यात्राका सुन्दर दृश्य हुन्। तर प्राय: महिलामा यी दृश्यभित्र एउटा यस्तो अनुभव पनि लुकेको हुन्छ, जसबारे कमै चर्चा हुन्छ। त्यो हो- रजस्वलाको समयमा हिमाल चढ्ने महिलाको अनुभव।

बाजुराकी विमला थापा भन्छिन्, ‘हिमाल आरोहण, ट्रेकिङ तथा साहसिक गतिविधिमा रजस्वलाको समयमा यात्रा गर्नु महिलाका लागि निकै चुनौतीपूर्ण हुन्छ। पेट दुख्ने, शरीर कमजोर हुने र अत्यधिक थकान जस्ता समस्या उच्च हिमाली क्षेत्रमा अझ बढ्छन्। हाइजिन व्यवस्थापन पनि कठिन हुन्छ किनभने चिसो मौसम, पानीको अभाव र उपयुक्त सुविधा नहुँदा स्यानिटरी प्याड परिवर्तन गर्न अप्ठ्यारो हुन्छ। लामो समय प्रयोग गर्दा दाग आउने तथा असहज हुने गर्छ। ब्याग प्याक, भारी गियर र डाउन सुटले झन् कठिन बनाउँछ। शारीरिक पीडाले मानसिक रूपमा पनि असर गर्छ, आत्मविश्वास घट्छ र समूहमा आफ्ना समस्या खुलाउन पनि असहज लाग्छ। मेरो समिट हुँदैन कि? हिँड्न सक्दिनँ कि? भन्ने भयले पिरोलिरहन्छ। तर उचित पूर्वतयारी, आवश्यक औषधी, सामग्री र खानपिनमा ध्यान दिएमा यात्रा सम्भव हुन्छ।’

नाथममा बीएमएसको दोस्रो सत्रमा अध्ययनरत विद्यार्थी कञ्चन परियार भन्छिन्, ‘ट्रेकिङ वा अन्य ‘आउटडोर एक्टिभिटिज’ मा महिलालाई केही समस्या त हुन्छ तर सबै कुरा व्यवस्थापन हुन्छ। मैले त म्यानेज गरेकी छु तर सबैलाई त्यस्तो नहुन सक्छ। कति दिदीबहिनीहरू एडभेन्चर फिल्डमा आउन त खोजिरहनुभएको हुन्छ तर यस्तै रजस्वलाको समस्या साथै भविष्य पनि निश्चित नभएर होला उहाँहरूको रहरमा मात्रै सीमित भइरहेको छ। सरकार र सरोकारवालाले वातावरण बनाइदिए त कति दिदीबहिनीहरू साहसिक पर्यटन तथा पर्वतीय पर्यटनमा आउनुहुन्छ होला।
नेपालमा पछिल्ला वर्षमा महिलाहरू पदयात्रा, पर्वतारोहण, अल्ट्रा म्याराथन, माउन्टेन बाइक यात्रा, रक क्लाइम्बिङ, स्की, र्याफ्टिङ, क्यानोनिङ तथा अन्य साहसिक गतिविधिमा सक्रिय रूपमा सहभागी भइरहेका छन् तर शरीरको प्राकृतिक चक्र अर्थात् महिनावारीका बारेमा भने अझै खुला संवाद भएको छैन। धेरै महिलाले ट्रेकिङ तथा आरोहणका क्रममा पेट दुखाइ, थकान, कमजोरीको डरले मानसिक तनाव भोगिरहेका हुन्छन् तर प्रायः मौन रहन्छन्।
उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा वा ट्रेकिङ, पर्वतारोहण, अल्ट्रा म्याराथन तथा अन्य साहसिक गतिविधिमा सहभागी हुँदा महिलाले रजस्वलाको समयमा विशेष तयारी गर्नु आवश्यक हुन्छ। महिनावारी चक्रबारे जानकारी राख्दै प्याड, मेन्स्ट्रुअल कप, सेनिटाइजर, डिस्पोजल ब्याग, अतिरिक्त कपडा, इलेक्ट्रोलाइट तथा आकस्मिक अवस्थामा खाने औषधी साथमा राख्नुपर्छ। पर्याप्त पानी पिउने, फलामयुक्त तथा ऊर्जा दिने खाना खाने, शरीर न्यानो राख्ने र पर्याप्त विश्राम गर्ने बानीले असहजता कम गर्न मद्दत गर्छ। प्रयोग भएका सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्नु र मानसिक रूपमा आत्मविश्वासी रहनु पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ।
महिनावारीलाई नेपाली समाजमा अझै पनि ‘त्यो समय’, ‘अशुद्ध अवस्था’ ‘पर सरेको’ वा ‘लुकाउनुपर्ने कुरा’ जस्ता शब्दसँग जोडेर हेर्ने गरिन्छ। विशेषगरी ग्रामीण तथा परम्परागत समुदायमा यसको प्रभाव अझ गहिरो छ। कतिपय महिलाले अझै पनि छाउपडीजस्ता कुप्रथाको असर भोगिरहेका छन्। कतिपय ‘आउटडोर एक्टिभिटिज’मा समेत रजस्वलालाई सामान्य हिसाबमा लिइँदैन।
रजस्वला महिलाको शरीरमा हुने एउटा जैविक प्रक्रिया हो। हर्मोनमा हुने परिवर्तनका कारण महिनावारी सुरु हुनुअघि र सुरुवाती दिनहरूमा महिलाहरूले पेट तथा ढाड दुख्ने, अत्यधिक थकान हुने, कमजोरी महसुस गर्ने, मनोभाव परिवर्तन हुने, टाउको दुख्ने, निद्रामा असर पर्ने, पाचनसम्बन्धी समस्या देखिने तथा शरीरमा पानीको कमी हुने जस्ता विभिन्न लक्षण अनुभव गर्न सक्छन्। उच्च हिमाली क्षेत्रमा यी समस्या अझ गम्भीर बन्न सक्छन्, किनकि कम अक्सिजन, चिसो मौसम, लगातार उकालो यात्रा, भारी झोला बोकेर हिँड्नुपर्ने अवस्था र पानीको अभावले शरीरमाथि थप दबाब सिर्जना गर्छ।
सन् २०२४ मा प्रकाशित ‘उच्च हिमाली क्षेत्रमा विश्राम अवस्थामा र मध्यम श्रमका बेला स्वस्थ महिलामा महिनावारी चक्र चरणको शारीरिक प्रतिक्रियामा प्रभाव’ सम्बन्धी वैज्ञानिक अध्ययनले उच्च उचाइमा महिलाको शरीरमा महिनावारी चक्रको प्रभावबारे अध्ययन गरेको थियो। गुइया टाग्लियापिएत्रा लगायतका अनुसन्धानकर्ताहरूले मोन ब्लाङ क्षेत्रको ३,३७५ मिटर उचाइमा १६ जना महिलामाथि परीक्षण गरेका थिए।
अध्ययनले उच्च उचाइमा श्वासप्रश्वास र मुटुको गति बढ्ने देखाए पनि महिनावारी चक्रका चरणहरूले ठूलो शारीरिक फरक नदेखाएको तथा व्यायाम क्षमतामा उल्लेखनीय कमी नआएको निष्कर्ष निकालेको थियो। बरु शरीरको अनुकूलन क्षमता व्यक्तिअनुसार फरक हुने कुरा बढी महत्वपूर्ण देखिएको थियो।
यसले महिलालाई केवल महिनावारीकै आधारमा कमजोर ठान्नु वैज्ञानिक रूपमा उचित नभएको समेत स्पष्ट हुन्छ। नेपाल लगायत उच्च हिमाली क्षेत्रमा, पदयात्रा, हिमाल आरोहण तथा साहसिक पर्यटनको क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा खोजको विषय हो।
सहरमा महिनावारी व्यवस्थापन अपेक्षाकृत सहज भए पनि हिमालमा अवस्था फरक हुन्छ। चिसो, पानीको अभाव, गोपनीयताको कमी र शौचालय सुविधाको अभावले महिनावारी व्यवस्थापनलाई चुनौतीपूर्ण बनाउँछ। अझै पनि साहसिक क्षेत्रमा कतिपय ठाउँमा पुरुषप्रधान सोच हाबी रहेको पाइन्छ, जहाँ महिनावारीलाई कमजोरी वा मजाकसँग जोडेर हेर्ने प्रवृत्ति देखिन्छ। तर विश्वभर अहिले महिनावारी सचेतनाको अभ्यास बढ्दै गएको छ।
यात्राअघि जानकारी आदानप्रदान गर्ने, आपत्कालीन महिनावारी सामग्रीको व्यवस्था गर्ने तथा लैङ्गिक संवेदनशील नेतृत्व प्रशिक्षण सञ्चालन गर्ने अभ्यास विस्तार हुँदै गइरहेका छन्। गाइडलगायत, अन्य सरोकारवालालाई समेत यससम्बन्धी सचेतना तथा आवश्यक भने देखिन्छ।
महिलाहरूको हिमाल यात्राको इतिहास आफैंमा प्रेरणादायी छ। जुनको ताबेई सन् १९७५ मा सगरमाथा आरोहण गरेर महिला पनि उच्च हिमालमा सक्षम छन् भन्ने ऐतिहासिक प्रमाण स्थापित गरिन्। लाक्पा शेर्पाले एघार पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छन्। यी उदाहरणहरूले महिलाको क्षमता सीमित नभएको स्पष्ट देख्न सक्छौं।
आज नेपाली महिलाहरू केवल घरभित्र सीमित छैनन्। उनीहरू हिमाल चढिरहेका छन्, अल्ट्रा म्याराथन दौडिरहेका छन् र अन्तर्राष्ट्रिय साहसिक अभियानहरूमा सहभागी भइरहेका छन्। तर अझै एउटा महत्वपूर्ण पक्ष महिनावारीलाई साहसिक यात्राको सामान्य, वैज्ञानिक र सम्मानजनक हिस्साका रूपमा स्वीकार गर्नु आजको आवश्यकता हो।
हिमालले मानिसलाई सहनशीलता सिकाउँछ। रजस्वलाको समयमा हिमाल चढ्ने महिलाहरूले त्यो सहनशीलतालाई अझ गहिरोसँग अनुभव गरिरहेका हुन्छन्। उनीहरूको यात्रा केवल शिखरतर्फको यात्रा मात्र होइन,समाजका पुराना सोच, लाज र मौनता तोड्ने यात्रा पनि हो। किनकि प्रकृतिको काखमा यात्रा गर्ने मानव शरीर स्वयं पनि प्रकृतिको सुन्दर चक्रभित्र बाँचिरहेको हुन्छ।





