मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

हिमाल प्रेस ८ जेठ २०८३ १७:२५ | Friday, May 22, 2026
18
SHARES
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादव

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार जनकपुरधामस्थित प्रदेशसभामा बसेको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन्।

‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा २० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १८८ को उपधारा २ मा उल्लेख छ।

मुख्यमन्त्री यादवले बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको छ। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका सांसदहरूले मत हालेका छन्। बैठकमा एक सय जना सांसद थिए।

१०७ सदस्यीय प्रदेशसभामा बहुमतको संख्या पुर्‍याउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका सांसदले भने विपक्षमा मतदान गरेका छन्। प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २४, नेकपाका १५ र राप्रपाका १ सांसद छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता यादव नेतृत्वको सरकारमा सम्मलित जनमत पार्टीले वैशाख २१ गते समर्थन फिर्ता लिएको थियो। पार्टीकै तर्फबाट सरकारमा अर्थमन्त्री र समाज कल्याणमन्त्री सहभागी रहे पनि जनमत पार्टीले यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुअघि मुख्यमन्त्री यादवले सत्तागठबन्धन फेरेका छन्। यसअघि सरकारमा सहभागी रहेको जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपालाई सामेल गरेर यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। यद्यपि बिहीबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेको थियो। तर, मुख्यमन्त्री यादवले गठबन्धन फेरेपछि जसपा नेपाल विपक्षीकित्तामा उभिएको हो।

यादव १९ मंसिरमा मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७७ सांसदले समर्थन जनाएका थिए।

प्रकाशित: ८ जेठ २०८३ १७:२५ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast