काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य जीवनरेखा नागढुंगा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्य ठप्प भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हजारौँ यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिको बहानामा काम रोकिनु अत्यन्तै चिन्ताजनक विषय भएको उनको ठहर छ । अध्यक्ष घिसिङले आफूले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माण कार्यले तीव्रता लिएको स्मरण समेत गरेका छन् ।
उनले वर्षायाम नजिकिँदै गर्दा सडकको काम रोकिँदा परिस्थिति थप गम्भीर बन्न सक्ने चेतावनी दिएका छन् । घिसिङले भने, ‘दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने यस सडकमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम, लामो जाम, आर्थिक क्षति र जनसाधारणको दुःख झन् बढ्ने निश्चित छ ।’
यो सडक केवल निर्माणको विषय मात्र नभई राजधानीको आपूर्ति व्यवस्था, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोडिएको संवेदनशील सवाल भएको घिसिङको भनाइ छ । उनले निर्माण कार्य तत्काल सुचारु गरी प्रभावकारी ढङ्गले अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
सरकारले निर्माण व्यवसायीका जायज मागहरूलाई सम्बोधन गरेर भए पनि कामलाई गति दिनुपर्नेमा उनले जोड दिएका छन् । घिसिङले लेखेका छन्, ‘निर्माण कार्य तत्काल सुचारु गरी प्रभावकारी ढङ्गले अघि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु र सरकारले निर्माण व्यवसायीको जायज मागलाई सम्बोधन गराउन समेत अनुरोध गर्दछु ।’



