काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद्प्रति उत्तरदायी नबनेकोमा गुनासो गरेकी छन्। उनले वेदका विभिन्न मन्त्र पढ्दै प्रधानमन्त्रीले सदनलाई ‘इग्नोर’ गरेको बताएकी छन्। प्रतिनिधिसभाको चलिरहेको बैठकमा उनले प्रधानमन्त्रीले महत्त्व नदिएको रूपमा आफूले बुझेको बताइन् । ‘सदनमा हामीले प्रधानमन्त्रीको उपस्थिति खोज्नुको अर्थ उहाँको अनुहार हेर्नु होइन, उहाँबाट जवाफदेहिता खोज्नु हो’, उनले भनिन्।
सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै मुख्य दस्तावेज भए पनि उनी छलफलमा उपस्थित नभएकोमा ओलीले असन्तुष्टि व्यक्त गरिन्। पहिलो अधिवेशनमा पनि प्रधानमन्त्री नबोली बाहिरिएको स्मरण गर्दै उनले दोस्रो अधिवेशनमा पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताइन्।
सांसद ओलीले प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेर सामाजिक सञ्जालमार्फत जनतालाई जवाफ दिने गरेकोमा कडा टिप्पणी गरिन्। ‘हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौँ, तर प्रधानमन्त्री ज्यू सामाजिक सञ्जालमा बसेर देश र जनतालाई जवाफ दिनुहुन्छ,’ उनले भनिन्, ‘यसले उहाँ संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको देखिन्छ।’ प्रधानमन्त्रीको अनुपस्थितिले संसद्को गरिमा र जनताका जल्दाबल्दा प्रश्नहरूको अपमान भएको तर्क गर्दै उनले सरकारलाई सदनप्रति जिम्मेवार बन्न आग्रह गरिन्। नीति तथा कार्यक्रममा समेटेका र नयाँ आइडिया सदनमा पेस गर्नुपर्ने बेलामा संसदमै प्रधानमन्त्री अनुपस्थित हुनु अनौठो रहेको उनको भनाइ थियो ।




