काठमाडौँ- भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह बिजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले विजयी भयो। समूह ए मा भारतसँगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ। पराजित किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ।
त्यस्तै सोमबार भएको पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले सान्त्वना जित निकाल्यो।
समूह चरणको अन्तिम खेलमा श्रीलंकाले २५–१९, २५–९ र २५–१३ को जित निकालेको हो। समूह बी बाट कजाखस्तान र इरान सेमिफाइनल प्रवेश गरिसकेका छन्।
चार टीमबीच वर्गीकरण राउन्ड पछि जेठ १४ गते बिहीबार सेमिफाइनल खेल हुने भलिबल संघले जनाएको छ। फाइनल खेल भने जेठ १५ गते शुक्रबार हुने छ।




