काठमाडौँ- किरात राई यायोक्खा हङकङको मुखपत्र ‘यलम्बर’ को साकेला सिली विशेषांक शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ।
यायोक्खा हङकङका उपाध्यक्ष गंगाराम राई, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सचिव वसन्त राई (विपिन) सहित लेखकहरू पदम वालाहाङ राई, प्रगति राई, गोमा राई, तेज राई र सचित राईले उक्त विशेषांक लोकार्पण गरेका हुन्।
लेखकका तर्फबाट पदमसहित सांस्कृतिक अभियन्ता दिलेन्द्र मुकारुङ राई र भद्रगोल किरातीले साकेला र सामूहिक चुलाका विषयमा बोलेका थिए। उपाध्यक्ष गंगाराम र प्रतिष्ठानका सचिव एवं मुखपत्रका सम्पादक वसन्तले यी पाँच जना लेखकलाई संस्थाका तर्फबाट सम्मान गरेका थिए।
नेपालबाट यो विशेषांकमा गोमाको ‘साकेला सिली : एक जीवन्त दर्शन’, ‘प्रगतिको अभिमतको कसीमा साकेलाको रूप’, पदमको ‘सेमुना साकेन्वा सिलीहरू’, तेजको ‘साकेला अनुभूति’ र सचितको ‘इलाममा साकेवा नाचिहिँड्दा’ आलेख समेटिएका छन्। यस्तै हरिचन्द्र राईको ‘साकेला सिलीको विशिष्टता र बहस’, किन्दर राईको ‘प्रेमको लयमा साकेला’, किन्दर राईकै ‘साकेला चाड र सिली : वर्तमान अवस्था र महत्त्व’, प्रदीप राई किरावाको ‘साकेला र सिलीको संक्षिप्त परिचय’ शीर्षक आलेख पढ्न सकिन्छ।
नरजित राईको ‘प्रकृतिवादी किरातको साकेला सिली’, रविचन्द्र राईको ‘साकेला सिली : एक परिचय’, उत्रसेर राईको ‘नेर्पाको फागु (साकेला)’, राजकुमार राईको ‘साकेला र इकसाम्माङ चिन्तन’, बज्रकुमार थुलुङ राईको ‘यलम्बरको इतिहास’, प्रतापकुमार कोयू राईको ‘झापामा भव्य सुप्तुलुङ निर्माण’, जुनू रानाको ‘साकेलामा स्व. किसनको खोजी र बालिका बान्तावाको नुयाङ’ आलेख पनि छन्।
उपाध्यक्ष गंगाराम र सचिव वसन्तले ‘यलम्बर’का हरेक अंकलाई समय र परिस्थितिअनुसार विशेषांकका रूपमा प्रकाशन गर्दै आएको बताए। जुन मुखपत्र २८ वर्षमा २४ अंक प्रकाशन भइसकेको छ।




