चलचित्र कलाकार संघको महाधिवेशन नजिकिँदै, अध्यक्षमा सविन र उत्तमको प्रतिस्पर्धा

हिमाल प्रेस २७ वैशाख २०८३ ८:४२ | Sunday, May 10, 2026
12
SHARES
चलचित्र कलाकार संघको महाधिवेशन नजिकिँदै, अध्यक्षमा सविन र उत्तमको प्रतिस्पर्धा

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघको आगामी २१औँ चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ । संघको साधारणसभा आगामी जेठ ३ गते हुने तय भएसँगै नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ ।

संघको अध्यक्ष पदका लागि वरिष्ठ कलाकार उत्तम केसीले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी संघका संस्थापक अध्यक्ष रविन्द्र खड्काको प्रस्ताव तथा प्रथम नायिका भुवन चन्दको समर्थनमा दर्ता गरिएको हो । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय तथा अनुभवी कलाकारहरूको साथ पाएकाले केसीको उम्मेदवारीलाई बलियो रूपमा हेरिएको छ । अर्का अध्यक्षका आकांक्षी धर्मेन्द्र आचार्यले भने उत्तम केसीको योजना र एजेन्डाप्रति समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनको समर्थनपछि संघभित्र सहमतिमार्फत नेतृत्व चयन गर्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ ।

यद्यपि अध्यक्ष पदमा कलाकार सविन श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्। यससँगै संघको नेतृत्वका लागि उत्तम केसी र सविन श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन समितिले शनिवार प्रारम्भिक नामावली सार्वजनिक गर्दै दाबी(विरोधका लागि वैशाख २७ गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकेको जनाएको छ । समितिले संघको कार्यालयमा उपस्थित भई उजुरी दर्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

उपाध्यक्ष पदमा उद्धवप्रसाद भट्टराई, डिलबहादुर तामाङ, पनाह अधिकारी, पुजना प्रधान, राजेन्द्र बस्नेत तथा शिवहरि नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । महासचिव पदमा रामेश्वर बर्माकोटी र सुनिल कटवाल आमनेसामने हुँदैछन् भने सचिव पदमा गोपाल ढकाल र पल्पसा डंगोलले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्ष पदमा तेजकुमारी खतिवडा, पवित्रा आचार्य तथा रञ्जना खड्का प्रतिस्पर्धामा छन्। सह-कोषाध्यक्ष पदमा पवन केसी र शारदा नेपाल उम्मेदवार बनेका छन्। सदस्य पदमा भने २८ जना कलाकारले उम्मेदवारी दिएका छन् । सदस्य पदका लागि अनुमती नेपाली, अशोक घिताल, इन्द्रबहादुर लामा (खम्बे), कोशिश क्षेत्री (पराजुली), गोकुल सुवेदी, चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम डोल्मा गुरुङ, जीवन थापा, दमन रूपाखेती, दावा फिन्जो तामाङ, धनबहादुर तामाङ, नम्रता खरेल, नम्रता योगी, नवीनकुमार श्रेष्ठ, प्रेम पाण्डे (पूण्य प्रसाद), मञ्जुदेवी तुलाधार, रश्मीला भट्ट (कार्की), राजेन्द्र गोसाई, लक्ष्मण चौलागार्ईं (खिन्ते काक), विनोदकुमार भट्टराई, श्रीदेव भट्टराई, सरिता राजोपाध्याय, सामना सिटौला, सुपा खनाल, सुमन सागर जंग केसी, सूर्यमान शंकर (सुलेमान) तथा हरि चन्द्र फुयाँललगायतले उम्मेदवारी दिएका छन्।

कलाकारहरूको सक्रिय सहभागिताले संघको आगामी नेतृत्व चयनलाई थप चासोपूर्ण बनाएको छ । नेपाली चलचित्र क्षेत्रको नेतृत्व र भावी दिशा निर्धारणसँग प्रत्यक्ष जोडिएको यो निर्वाचनलाई कलाकार तथा सरोकारवालाले विशेष महत्वका साथ हेरेका छन् ।

प्रकाशित: २७ वैशाख २०८३ ८:४२ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast