सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य

हिमाल प्रेस ३१ वैशाख २०८३ ८:१२ | Thursday, May 14, 2026
सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य

कञ्चनपुर- कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ।

नगरपालिकामा सञ्चालित १८ आधारभूत र १३ माध्यमिक गरी ३१ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ । शिक्षक तथा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्दै शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले विद्युतीय हाजिरी प्रणाली लागू गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीको दैनिक उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याइएको छ । ‘हाजिरी विवरण प्रत्येक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित राख्नुपर्ने व्यवस्था गरेका छौँ’, उनले भने,’विद्युतीय हाजिरी प्रणालीमार्फत कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।’

विद्युतीय हाजिरी विवरणकै आधारमा शिक्षक तथा कर्मचारीलाई तलब उपलब्ध गराइने व्यवस्था गरिएको छ । सबै सामुदायिक विद्यालयलाई प्रमाणित हाजिरी विवरणको प्रतिलिपि नगरपालिकामा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

नगरप्रमुख हेमराज ओझाले विद्युतीय हाजिरी प्रणालीले विद्यालयमा शिक्षक तथा कर्मचारीको नियमितता, अनुशासन र जवाफदेहितामा सुधार ल्याउने विश्वास व्यक्त गरे । ‘यसले विद्यालय प्रशासनलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्नेछ’, उनले भने, ‘शिक्षाको गुणस्तर सुधारका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छौँ ।’

उनका अनुसार केही विद्यालयमा बिग्रिएका हाजिरी मेसिनको मर्मत तथा आवश्यक स्थानमा थप मेसिन जडान गर्ने कार्यसमेत भइरहेको छ । रासस

प्रकाशित: ३१ वैशाख २०८३ ८:१२ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast