काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणत्मक सिरिजमा घरेलु टोली नेपालसामु अमेरिकाले १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो।
ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि स्मित र सेहनान जयसर्याले १ सय रनको साझेदारी गरे। सेहनान अर्धशतक पूरा गर्दै पेभेलियन फर्के। ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सेहनान दीपेन्द्रसिंह ऐरीको बलमा गुल्सन झा को हातबाट क्याच आउट भए।
मिलिन्द कुमार २८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। मिलिन्द कुमारले ४१ बलमा २ चौका र २ छक्का हाने। हरमित सिंह १४ रन बनाउँदा दीपेन्द्रको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।
कप्तान साइतेजा मुक्कामल्ला ४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्डआउट भए। सयान जहानगिर ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। सञ्जय कृष्णमुर्ति १ रन बनाउँदा गुल्सन झाको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुन पुगे।
शुभम रन्जाने २ रनमा रनआउट भए। मोहम्मद मोहसिन शुन्य रनमा नै रनआउट भए। नोस्तुस केन्जीके १ रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लु आउट भए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरिले चार लिए। किफायती बलिङ गरेका उनले ७।३ ओभरमा मात्र २४ रन खर्चे।
सोमपाल कामीले २ विकेट झारे। उनले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चे। सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए।
घरेलु टोली नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।




