काठमाडौँ- जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचोविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ।
जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा सहभागीहरुले ‘हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्यविना लोकतन्त्र अधुरो छ’ लगायतका प्लेकोर्ड बोकेर प्रदर्शन गरेका थिए।
देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी भएका छन्। यो ऐतिहासिक विद्रोह दिवसको घोषणा ६ वर्षपहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विकलगायत ६ जना युवाको सम्मान र न्याय खोज्ने प्रतिरोधको रूपमा गरिएको थियो।
अन्तरजातीय प्रेमकै कारण ज्यान फाल्नुपर्ने यो देश कस्तो गणतन्त्र हो? भन्दै ¥यालीमा सहभागी युवा अधिकारकर्मीहरूले आक्रोश पोखेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘भूमिहिन दलितहरूलाई खेतीयोग्य जमिनको व्यवस्था गर, दलित विद्यार्थीका निम्ति छात्रवृत्तिसहित निःशुल्क शिक्षा सुनिश्चित गर र दलित हत्याकाण्डको न्यायिक छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर’ जस्ता मागहरू राखेका छन्।




