काठमाडौँ- महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नील हिरा समाजका प्रतिनिधिहरूले भेटघाट गरेका छन्।
भेटका क्रममा नील हिरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यकको महासंघ नेपाल र नील हिरा समाज साथै महासंघसँग आबद्ध संस्थाहरूकोले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
नील हिरा समाजले लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई मन्त्रालयको कार्यक्षेत्रमा समावेश गरिएकोमा यो निर्णयलाई महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाएको छ।
सो अवसरमा मन्त्री बादीले लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताइन्।




