बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

हिमाल प्रेस २५ वैशाख २०८३ ६:०४ | Friday, May 8, 2026
8
SHARES
बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक- गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गमा रातको समयमा फसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरी टोलीलाई सम्मान गरिएको छ।

बिपी राजमार्गअन्तर्गत रोशी–७ लास्कोट र घुमाउने खोलाबीच पाँच माइक्रोबसमा फसेका ८९ यात्रुको जोखिम मोलेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा नगदसहित बिहीबार सम्मान गरिएको हो।

सम्मानित हुनेमा सहायक निरीक्षक भरत न्यौपाने, हवल्दारद्वय श्रीकृष्ण कार्की र बुद्धि खड्का, सहायक हवल्दारद्वय किरण कुँवर र अशोकजंग दनुवार छन्।

उनीहरूले उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटरले जनाएको छ।

उक्त कार्य सशस्त्र प्रहरी बल, नेपाल नं १५ गणपति प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा गरिएको थियो।

त्यस्तै, कार्यक्रममा पाँचखाल चौकी इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउतलाई पनि सम्मानित गरिएको छ।

उनीहरूलाई प्राकृतिक विपद्का बेला उद्धार कार्यमा समन्वयात्मक भूमिका खेलेवापत सम्मान गरिएको जनाइएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी संगठनको भूमिका, विपद् व्यवस्थापन र नागरिक सुरक्षामा योगदानबारे चर्चा गर्दै अनुशासन र जनसेवामा थप सक्रिय हुनुपर्ने बताए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै थप सक्रियताको अपेक्षा गरिएको बताए।

प्रकाशित: २५ वैशाख २०८३ ६:०४ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast