खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन

हिमाल प्रेस २६ वैशाख २०८३ ६:४८ | Saturday, May 9, 2026
2
SHARE
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिएकी छन्।

मन्त्री चौधरीले शुक्रबार विभागको अनुगमनका क्रममा देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताए। साथै खाद्य प्रविधिको विकासमार्फत मूल्य अभिवृद्धि, पोषण सुधार तथा निर्यात प्रवर्द्धनमा पनि विभागको अहम् योगदान रहेको उनले उल्लेख गरिन्।

मन्त्री चौधरीले खाद्यवस्तुको विविधिकरण, खाद्य योगशील तथा प्रशोधन सहयोगीको प्रयोग, सीमित मापदण्ड, प्रयोगशाला सेवाको दायरा र स्रोत साधनको कमीका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको बताइन्। तर नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल भ्यान सञ्चालन, खाद्य प्रविधि विकास तथा नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाहीजस्ता कार्य प्रशंसनीय रहेको मन्त्री चौधरीले बताइन्।

‘गुनासोरहित, छरितो र प्रभावकारी सेवा प्रवाह’ गर्न निर्देशन दिँदै मन्त्री चौधरीले कुनै पनि अवस्थामा सेवाग्राहीसँग घुस माग्ने, ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने गतिविधि दोहोरिन नदिन निर्देशन दिइन्। उनले विभागलाई नियमित बजार तथा उत्पादनस्थल अनुगमन, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायको निगरानी, खाद्य अनुमति तथा आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिइन्। यसका साथै, प्रयोगशाला सेवाको दायरा विस्तार र एक्रेडिटेसन बनाउन, विषादी, हेभी मेटल, माइकोटक्सिन तथा पानीको गुणस्तर परीक्षण विस्तार गर्न उनले सुझाव दिइन्।

त्यस्तै, भेटेरिनरी ड्रग रेसिड्यु र एन्टिअक्सिडेन्ट परीक्षण सुरु गर्ने, आहारपूरक खाद्य पदार्थको नियमन, घरदैलोमै पुगेर उद्योगीलाई परामर्श सेवा, ट्रान्स फ्याट नियन्त्रण र लेबलिङ, प्याकेजिङ र म्यादसम्बन्धी अध्ययन तथा निगरानी गर्न पनि मन्त्री चौधरीले निर्देशन दिइन्।

प्रकाशित: २६ वैशाख २०८३ ६:४८ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast